
महोत्तरी - मटिहानी नगरपालिका १ धीरापुर बस्ने २४ वर्षीय मोजाहिर अन्सारीलाई सोहि ठाउँ बस्ने ४० वर्षीया आमना खातुनलाई बलात्कार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार खातुनलाई अन्सारीले असोज ७ गते घाँस काट्न गएको बेला सुनसान चौरमा बलात्कार गरी हत्या गरेर फरार भएको थिए ।
अन्सारीलाई असोज ९ गते मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र यस जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट खटिएको संयुक्त प्रहरी टोलीले गिरफ्तार गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।
आरोपी अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले असोज ७ गते राती १० बजे शव फेला पारेको प्रहरी उपरीक्षक पङ्गेनीले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक पङ्गेनीको अनुसार खातुन असोज ७ गते बिहान ११ बजेको समयमा घाँस काट्न भनि घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई गएकोमा साँझ सम्म पनि घर फर्की नआएपछी छर छिमेकी तथा आफन्त समेतमा खोजतलाश गर्दा फेला नपरेपछी स्थानीय प्रहरी समेत खबर गरिएको थियो । प्रहरीले खबर पाएपछि खोजतलाश गर्ने क्रममा राती १० बजे तिर धिरापुर गाउँ देखि १.५ कि.मि. पूर्व पर्ने बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैँचाको बाँसघारीमा मृत अबस्थामा फेला परेको थियो।
घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोरी चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो । अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ । प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो ।
अभियुक्तमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छ/छैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको प्रहरी उपरीक्षक पङ्गेनीले जानकारी दिनुभयो ।
मृतकको शवको पोष्टमार्टम जिल्ला अस्पताल जलेश्वरमा असोज ८ गते गरिएको छ।









