लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गरेकी छन् । उनले नेपाली कांग्रेसमा प्रवेश गर्न पार्टी परित्याग गरेकी हुन् ।
बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गरेकी छन् । उनलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेको स्रोतको दाबी छ ।



यसअघि उक्त क्षेत्रबाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । उनलाई साविकको तमलोपा अध्यक्ष महन्थ ठाकुरले खेलकुद सहायकमन्त्री समेत बनाएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।
यसअघि उनी माइती महोत्तरी–३ बाट सांसद बन्दै आएकी थिइन् । तर, अब उनले लोसपा त्यागेर आफ्नो घर रहेको सर्लाही जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने भएकी छन् ।















