
जनकपुरधाम- नवरात्रीको आठौं दिन महाअष्ठमीका अवसरमा जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष करिव ३० हजार श्रद्धालुभक्तजनले प्रसाद (लड्डु) चढाएका छन् ।
प्रसाद चढाउन आइतबार राति १० बजेदेखि नै हजारौँ श्रद्धालु लाममा थिए । राजदेवी मन्दिरमा राति करिव १२ बजेदेखि प्रसाद चढाउने क्रम शुरू भएको थियो ।
पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका कोषाध्यक्ष विकास रायका अनुसार दिउँसो २ बजेसम्म प्रसाद चढाइने भएको छ । महिलाहरु पनि अहिलेसम्म खोंइछ भरिरहेकी छन् ।
प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्न भएपछि मन्दिरको सरसफाइ गरी साँझ हुने बोकाबलिको तयारी गरिने कोषाध्यक्ष रायले बताए । बली प्रदान कार्यक्रमको तयारीका लागि २ बजेसम्म मात्र मन्दिरमा प्रसाद चढाउने कार्यक्रम राखिएको छ । उनले साँझ करिव ७ः३० बजेदेखि निशापूजा पश्चात बोकाबलि हुने जानकारी दिए ।
गुठी संस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ । संस्थानले खसी बोकाको रसिद काटने कार्य जारी राखेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाइएको छ ।
राजदेवीमा बुधबार विजयादशमीका दिन महाप्रसाद कार्यक्रम यसवर्ष पनि भव्यताका साथ हुने भएको छ । विजयादशमीकै दिन रावण वध कार्यक्रमको पनि आयोजना हुने बताइएको छ ।
यसपाली पनि गंगासागर र धनुषसागर पोखरीको डिलमा भव्य तवरले रावण बध कार्यक्रम आयोजना हुने महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।
त्यस्तै यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएका दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाममा लागेका छन् ।