
दिवेशकुमार कुशवाहा/ढल्केवर(धनुषा)
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको लागि धनुषामा हक्की खेलको प्रदेशस्तरिय बन्द प्रशिक्षण सुरु भएको छ ।
धनुषाको मिथिला नगरपालिका नक्टाझिज स्थित हिमालय युवा क्लवको खेल मैदानमा शुक्रवारदेखि हक्कीको बन्द प्रशिक्षण सुरु भएको छ । चारदिने बन्द प्रशिक्षणको अभ्यास सोमबारसम्म चल्ने बताइएको छ ।

मिथिला नगरपालिका वडा नं. २ को वडा अध्यक्ष बिहारी महतोको अध्यक्षता तथा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यतामा बन्द प्रशिक्षणको अभ्यास शुभारम्भ भएको हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतोले जानकारी दिए ।

बन्द प्रशिक्षण अभ्यासको शुभारम्भ गर्दै मन्त्री महतोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिदैं खेलाडीहरुलाई खेल प्रति हौसला बढाउन खेल सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा आवश्यक पर्ने खेलकुद सामाग्रीहरू का लागि तत्कालै २७ हजार नगद सहयोग गरे ।

मधेश प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्रालयले खेलकुदका लागि बजेट छुट्याए पनि कार्यान्वयन पक्ष फितलो खेलाडीहरुको मनाेवल खस्किदैँ गएकोले सम्बन्धित मन्त्रालयलाई खेल र खेलाडीको समस्याप्रति गम्भीर बन्न मन्त्री महताेले आग्रह गरे ।

हक्कीको बन्द प्रशिक्षणमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट पुरुष र महिला हक्की खेलाडीहरुको सहभागिता रहेको छ । चार दिवसीय बन्द प्रशिक्षणमा पुरुष टिमको हक्की प्रशिक्षक रविन्द्र सिंह र महिला हक्की टिमको प्रशिक्षक दिनेश सिंह र श्यामबाबु नायकले खेलाडीलाई अभ्याससँगै प्रशिक्षण दिइरहेका छन् ।

बन्द प्रशिक्षणको शुभारम्भको अवसरमा मिथिला नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामचन्द्र महतो, जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रअ महेन्द्र महतो, मिथिला युवा संजाल ढल्कवेरका अध्यक्ष ई.मनिष कुमार महतो, उपाध्यक्ष विवेक ठाकुर, हिमाल युवा क्लव नक्टाझिजका उपाध्यक्ष एंव पत्रकार विनोद महतो, सचिव शिव कुमार सिंह, मिथिला नगर युवा संजालका अध्यक्ष राजु कुमार सिंह, भुपु ईलाका सदस्य जीवछ महतो, हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धनीकलाल महतो, मिथिला नगरपालिका वडा नंं.२ का वडा अध्यक्ष प्रत्यासी जसपा नेता रामनाथ महतो(दिनेस) लगायत अभिभावक, क्लब तथा सञ्जालका प्रतिनिधिहरु लगायत खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन तथा बन्द प्रशिक्षणको मुख्य व्यवस्थापन हिमालय युवा क्लबका पूर्व अध्यक्ष अरुण कुमार महतोले गरेका थिए ।