
धनुषा — जनता समाजवादी पार्टी(जसपा)का नेता लक्ष्मी महतो एमाले प्रवेश गरेर महोत्तरी-१ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । जसपाबाट उम्मेदवार बन्न अन्तिम समय सम्म तयारी गरेका महतो एमाले प्रवेश गरेका हुन् ।
पाँच दलीय गठबन्धबाट माओवादी केन्द्रका उम्मेदवार विरुद्ध एमाले–जसपाको गठबन्धनबाट एमालेको चुनाव चिन्हबाट महतोलाई उम्मेदवार बनाइएको हो ।

एमाले र जसपा गठबन्धनमा महोतरी-१ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा आएका हुन । जसपाबाट टिकट नपाएपछि महतो स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका थिए ।
शनिबार बिहान एमालेका सचिव रघुवीर महासेठसँगको भेटघाटपछि महतो एमालेको टिकट लिएर उम्मेदवारी दर्ता गराउन महोत्तरी पुगेका छन् । रातभरीको छलफलपछि महतो एमालेको उम्मेदवार भएको एमालेका एक नेताले बताए ।
यस अघि ०७४ को निर्वाचनमा जसपाबाटै महतो प्रतिनिधि सभाका उम्मेदवार थिए । उनी पराजित भएका थिए । गत चुनावमा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए । पोखरेल ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छन् ।
०७४ को निर्वाचनमा निर्वाचित पोखरेल २३७७६ मत प्राप्त गरेका थिए भने पराजित महतोले १९,४९२ मत पाएका थिए । मओवादी केन्द्रका पोखरेल संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिध सभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी- १ बाटै निर्वाचित भएका हुन् ।
