
धनुषा- प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं. ४ मा एमाले सचिव रघुबीर महासेठले उम्मेदवारी दर्ता गराउनु भएको छ। महासेठ यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।

महासेठले आइतबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउनु भएको हो।

२०६४ सालको प्रथम संविधानसभा चुनावमा एमालेबाट महासेठ धनुषा- ४ मा चुनाव लड्नु भएको थियो। तर उहाँलाई तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार सञ्जय साह ’टकला’ले पराजित गर्नुभएको थियो ।

त्यस पछि धनुषा- ५ बाट चुनाव जित्नु भएको नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रको उपनिर्वाचनमा भने महासेठ चुनाव जित्न सफल हुनु भएको थियो।

चुनाव जितेर पहिलोपटक प्रतिनिधिसभामा पुग्नु भएको महासेठले सिञ्चाइ मन्त्री बन्ने अवसर समेत प्राप्त गर्नुभएको थियो ।
त्यस पछि २०७० सालको निर्वाचनमा महासेठ पराजित हुनु भएको थियो भने २०७४ सालको निर्वाचनमा धनुषा- ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जित्नु भएको थियो।

महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री, उपप्रधान तथा परराष्ट्र मन्त्री भइसक्नु भएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नंं. ४ (क)बाट एमालेबाट काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको सन्तोष यादव र ४(ख) बाट हरिनारायण महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ।