महोत्तरी - गौशाला नगरपालिका–५ गौशाला बजारस्थित एक घरमा प्रहरीले छापा मार्दा हरिणको सुकेको छाला सहित ठूलो परिमाणमा भन्सार छलीका लत्ता–कपडा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार गौशाला नगरपालिका ५ बस्ने सुबोध यादवको घरमा भाडा गरी बस्दै आएका भारत, पश्चिम बंगाल कोलकाता घर भएका ३६ वर्षीय मनोज रायको कोठामा गोप्य सुचनाको आधारमा छापामारी गरि सो सामान बरामद गरिएको हो । साथै भारतीय नागरीक मनाेजलाई पक्राउ समेत गरिएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति छापामारी गरी करिब १८ लाख रुपैयाँ बराबरको भन्सार छलीका कपडा र एक थान हरिणको सुकेको छाला (आखेटोपहार) बरामद गरेको जनाएको छ।
बरामद गरिएको सामान र पक्राउ परेका मनोज रायलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको र हरिणको छालासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




