
धनुषा- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताउनुभएको छ।

बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गराएपछि संचारकर्मी संग प्रतिक्रिया दिंदै सहमहामन्त्री यादवले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने अभियान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने एक किसिमको जनमतसंग्रह पनि हो ।’

त्यसैगरी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनुषाको क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यको नेकपा एसको उम्मेदवार शत्रुधन महतोले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लागेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशा संचार दिन चाहेकोले आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनुषाको क्षेत्र नं. ४ (क) को प्रदेश सभा सदस्यको उम्मेदवार शेष नारायण यादवले भ्रष्टाचारको उन्मूलन गरेर जनतामा आशा जगाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

उहाँले गाउँमा सबै विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी गाउँ गाउँमा पुर्याउन आवश्यक रहेकोले यो बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँ आज मात्र जनता समाजवादी पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नुभएको हो ।