
धनुषा- धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा हेवी वेट नेताहरुले उम्मेदवारी दर्ता गराउनु भएको छ।
धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने हेवी वेट नेताहरुमा १० जना पूर्व मन्त्री नै रहनु भएको छ।
धनुषा १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता मातृका यादवले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ। पूर्व मन्त्री यादव माओवादी केन्द्रका उपमहासचिव समेत हुनुहुुन्छ।
धनुषा १मा एमाले-जसपा गठबन्धनबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ।
धनुषा २ मा ३ पूर्व मन्त्री बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशंकर अरगरिया, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराउनु भएको छ। तीनै जना पूर्व मन्त्री हुनुहुन्छ ।
त्यस्तै जसपाबाट गंगाराम यादवले समेत सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ भने सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराउनु भएको छ। दुबै जना पूर्व मन्त्री हुनुहुन्छ ।
त्यसैगरी धनुषा ४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव बिच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनबाट काँग्रेस नेता एवं पूर्वमन्त्री यादव र एमालेबाट पूर्वमन्त्री महासेठले धनुषा ४ मा उम्मेदवारी दर्ता गराउनु भएको छ।