
काठमाडौँ — आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जम्मा ६ हजार २ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
सोमबार साँझसम्म निर्वाचन आयोगले अध्यावधिक गरेको विवरण अनुसार दुवैतर्फ पुरुषको तुलनामा महिलाको उम्मेदवारी न्यून छ ।
दुवैतर्फ जम्मा ५ हजार ४६९ जना पुरुषको उम्मेदवारी परेको छ । यस्तै प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ जम्मा ५३२ जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।
लैंगिक अल्पसंख्यक समुदायबाट एक जनाको मात्रै उम्मेदवारी परेको बताइएको छ । उक्त समुदायबाट सर्लाहीको निर्वाचन क्षेत्र नं २ मा एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ५२६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिलाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभातर्फ जम्मा ३ हजार ४७६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ हजार १७८ जना पुरुष र २९७ जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।