
धनुषा- जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ ।
बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको हो ।
बुधबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए ।
लिकमा लडेका सदाको घाँटी काटिएको छ । सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ भने रेल जनकपुर आएर पुनः जयनगरतर्फ फर्किसकेको छ ।
संभतः यो नयाँ रेल संचालन भए पश्चात पहिलो पटक रेलमा किचिएर मानिसको मृत्यु भएको घटना हो ।