
धनुषा- प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा आइतबार सम्पन्न मनोनयन दर्ता उत्साहजनक देखिए पनि महिला सहभागिता भने निराशाजनक रह्यो। महिला अधिकार, उत्थान र समावेशीका हिमायती भएको दाबी गर्ने दल नै महिला उम्मेदवारका सवालमा पछि हटेका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको खडेरी देखिएको छ।
तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) की केन्द्रीय सदस्य विभा ठाकुरले निर्वाचनको समयमा अन्य पार्टीबाट आएकाहरू उम्मेदवार हुँदा वर्षौंदेखि संघर्ष गर्ने महिला नेताहरू भने अवसरबाट वञ्चित हुनुपरेको बताउनुहुन्छ ।
‘पार्टीको सभा सम्मेलन र आन्दोलनमा सहभागी हुनेलाई पार्टी नेतृत्वले निर्वाचनमा अवसर नदिई दलमा नवआगन्तुक, धनाढ्यलाई अवसर दिँदा गरिब, विपन्न, दलित र महिला उम्मेदवार अवसरबाट वञ्चित भएका छन्,’ ठाकुरले भन्नुभयो, “पद र नेतृत्वमा पुगेका महिलाले पनि महिला अधिकारका लागि बोल्न सकेका छैनन्। पदमा बस्दा चुपचाप बस्ने महिलाले पुरुषकै आदेश मान्ने परम्परा बनेको छ ।”
जनता समाजवादी पार्टी (जसपा) की निवर्तमान प्रदेशसभा सदस्य चमेलीदेवी दासले गठबन्धनमा पनि पुरुषलाई नै प्राथमिकता दिएको बताउनुहुन्छ। उहाँले महिलालाई चुनाव लड्न नसक्ने भन्दै पछि पारिने गरिएको बताउनुभयो ।
नेकपा एमालेमा आवद्ध जनकपुरकी रुकाकुमारी मिश्रले योग्य महिलाको नाम सिफारिस भए पनि उम्मेदवार बनाउन नचाहेको बताउनुहुन्छ । “रातारात अन्य पार्टीबाट महिलालाई पार्टी प्रवेश गराउने लहर चलेको छ । रुप, रंग र पैसावाला महिलालाई मात्रै उम्मेदवार बनाइन्छ,” उहाँले भन्नुभयो ।
कांग्रेसकी केन्द्रीय सदस्य मीनाक्षी झाका अनुसार अवसरका लागि महिलाहरूले दल बदल गर्दा पार्टीमा लामो समयसम्म काम गर्ने महिला नेताहरू अवसरबाट वञ्चित हुनुपरेको हो।
माओवादी केन्द्रमा आबद्ध तारा महतोले पार्टीले पटकपटक सांसदका लागि नाम सिफारिस भए पनि अन्तिम समयमा सूचीबाट नाम हट्ने गरेको गुनासो गर्नुभएकोछ ।
नेकपा एमालेकी मुन्नी दासका अनुसार नेताहरूले आफूअनुकूलको कानुन बनाउँदा सक्रिय राजनीतिमा रहेका गरिब, विपन्न तथा दलित महिला प्रत्यक्ष निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको हो।
धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने ६ जना महिलाले मात्र उम्मेदवारी दिनुभएको छ।
त्यस्तै, प्रदेश सभाका लागि १३८ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या १० र स्वतन्त्र उम्मेदवारको संख्या ७७ रहेको छ ।
प्रतिनिधि सभातर्फ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा १०३ जनाले उम्मेदवारी दर्ता गराएकोमा धनुषा-३ बाहेक अन्य क्षेत्रमा एकजना पनि महिला नेतृको उम्मेदवारी परेको छैन।
धनुषा-३ मा मात्र ६ जना महिला उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी नै दिनुभएको छ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ १३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या १० मात्र रहेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर-१ मा २५ जनाले उम्मेदवारी दिएका छन्। जसमा १७ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।
त्यस्तै, प्रदेश सभातर्फ धनुषा-१ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने महिला उम्मेदवार एकजना पनि छैनन् ।
धनुषा-१ को (ख) मा पनि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये स्वतन्त्र ९ जना रहेका छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।
प्रतिनिधि सभातर्फ धनुषा-२ मा १६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आधा अर्थात ८ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने महिलाको संख्या शून्य रहेको छ ।
प्रदेश सभातर्फ धनुषा-२ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने एक जना पनि महिला उम्मेदवार छैनन् भने २ को (ख)मा पनि १७ जनाले उम्मेदवारी दर्ता गराउँदा ८ जना स्वतन्त्र र महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।
यता, सबैभन्दा महत्वका साथ देखिने धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ मा प्रतिनिधि सभातर्फ कूल ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला उम्मेदवारको संख्या ६ रहेको छ भने २१ जना स्वतन्त्र उम्मेदवारहरु छन् ।
यस क्षेत्रमा महिलातर्फ नेकपा एमाले र जसपा बिचको गठबन्धनबाट एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउँदा नेपाल जनता पार्टीबाट पूनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको तर्फबाट प्रविणा कुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ। त्यस्तै, ज्योति कुमारी साह, पूजा साह र मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
प्रदेश सभा तर्फ धनुषा-३ को (क)मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । २० मध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । जसमध्ये पूनम देवी दास तत्माले मात्र स्वतन्त्रतर्फ आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ।
धनुषा-३ को (ख) मा प्रदेश सभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जना स्वतन्त्र उम्मेदवारहरु छन् भने यस क्षेत्रबाट ५ जना महिलाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
प्रदेश सभा सदस्यका लागि यहाँ स्वतन्त्र महिला उम्मेदवारहरु किरण देवी साह, पवन देवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सिता कुमारी बिच प्रतिष्पर्धा हुने भएको छ ।
त्यस्तै, प्रतिनिधि सभातर्फ धनुषा-४ मा ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा २० जना स्वतन्त्र उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।
प्रदेश सभातर्फ धनुषा-४ को (क)मा १९ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नेपाल लोकतान्त्रिक पार्टीबाट आशा देवी साह, जनमत पार्टीबाट मिथलेश देवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिरा कुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ। यस क्षेत्रमा ८ जना स्वतन्त्र उम्मेदवारहरु छन् ।
त्यस्तै, धनुषा-४ को (ख)मा १३ जना उम्मेदवारहरु प्रदेश सभा सदस्यका लागि प्रतिष्पर्धामा देखिएका छन् । जसमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जनता प्रगतिशिल पार्टी नेपालको तर्फबाट एकमात्र महिला उम्मेदवार शोभा कार्कीको उम्मेदवारी परेको छ ।
आगामी निर्वाचनका लागि धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता कायम भएका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।
त्यसैगरी महोत्तरीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका ४ प्रतिनिधि र ८ प्रदेशसभा गरी १२ सिटका लागि २३९ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ जना महिलाले मात्र मनोनयन दर्ता गराएका छन् । यो सङ्ख्या कुल उम्मेदवारको साढे ८ प्रतिशत मात्र हो । यो प्रतिशतले संविधानले महिलाका लागि प्रत्याभूत गरेको ३३ प्रतिशतको उपहास भएको महिला नेतृहरूको गुनासो छ ।
चारै क्षेत्रका निर्वाचन अधिकृतले जारी गरेको पछिल्लो रिपोर्टअनुसार प्रतिनिधि सभाका ४ सिटका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ५ अर्थात् २ प्रतिशत मात्र छ । प्रदेश सभाका ८ निर्वाचन क्षेत्रमा १७० जनाले मनोनयन दर्ता गराएकामा ६ स्वतन्त्र गरी १६ जना अर्थात् ९ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ ।
प्रदेश सांसद एवं नेकपा एमालेकी नेतृ शारदादेवी थापा निर्वाचनमा महिलाहरूको न्यून सहभागितालाई विभिन्न कोणले विश्लेषण गर्नुहुन्छ । उहाँको भनाइमा दलहरूले महिलाको नेतृत्व र अस्तित्वलाई नस्वीकार्ने प्रवृत्तिका कारण संविधानले प्रत्याभूत गरेको ३३ प्रतिशत आरक्षणबाट समेत वञ्चित हुनुपरेको हो । “कानुनलाई बाध्यकारी नपारेसम्म संविधानमा लेखेर मात्र नहुने रहेछ” प्रदेश सांसद थापाले भन्नुभयो ।
महोत्तरी बर्दिबासकी दीपा लामा १८ वर्षकै उमेरमा माओवादी सशस्त्र द्वन्द्वमा बन्दुक बोकेर जनसेनाका रूपमा राजनीतिमा प्रवेश गरे पनि पछिल्लो समय जीवनयापनमै समस्या भएको बताउनुहुन्छ । राजनीतिमा नातावाद, कृपावाद हाबी भएका कारण सशस्त्र जनयुद्धमा संघर्ष गरेर पनि कुनै अवसर पाउन नसकेको दीपाले बताउनुभयो ।
प्रतिनिधि सभाका लागि त निर्वाचन क्षेत्र नं २ र ४ बाट एक जना महिलाको पनि उम्मेदवारी परेन। प्रदेश सभाका लागि भने सबैभन्दा बढी क्षेत्र नं १ बाट ७ जना महिलाले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै २ बाट ३ जना, ३ बाट २ जना र ४ बाट ४ जना महिलाले मनोनयन गरेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् ।
यो पटक महोत्तरीमा साना ठुला २४ वटा पार्टी चुनावी मैदानमा देखापरेका छन् । तर सबैभन्दा बढी राप्रपा नेपालबाट ५ महिलाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै राप्रपा, एमाले, लोसपा, नेकपा एकीकृत समाजवादी लगायत ११ पार्टीले मात्र महिलालाई अवसर दिएको देखिएको छ ।