
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाए सँगै मधेस प्रदेशमा मुख्यमन्त्री राउतले गठबन्धन दलसँग आबद्ध मधेस प्रदेशका सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।
मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार रहेको छ।
मुख्यमन्त्री राउतका प्रेस संयोजक मिश्रले भने, “सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गरेकोले जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले केन्द्र सरकारबाट हटाउँदा मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सत्ता गठबन्धनबाट सहभागी ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गर्न लागेका हुन् ।”
प्रदेशमा कांग्रेसकाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह गरि ३ मन्त्रीहरू छन् भने माओवादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कणर् रहेका छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीको तर्फबाट उद्योग‚ वन‚ पर्यटन तथा वातावरण मन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादवलाई बर्खास्त गर्ने तयारी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक मिश्रले जानकारी दिए ।
मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भने, “मुख्यमन्त्रीजीले फोन गरेर संघमा हाम्रा मन्त्रीहरू हटाइएकाले हामी पनि सत्ता गठबन्धनका मन्त्रीहरू हटाउन लागेका भनेर फोन गर्नुभएको थियो ।”
संघीय सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजमात्र बर्खास्त गरेका छन् ।