
बर्दिवास- नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले महाेत्तरीकाे जनताको साथसहयोग रहेकाले आफूलाई जनताले पुनः विजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।
पोखरेलले सांसद र मन्त्री हुँदा महोत्तरीमा आफूले गरेका काम नै यसपटक आफ्नो चुनाव जित्ने आधार भएको बताएका हुन् ।
चौंथोपटक महोत्तरी–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका पोखरेलले मंगलबार बिहान बर्दिबास–३ गौरीडाडास्थित आफ्नै निवास ‘आधारशीला’मा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनाव जित्ने आधारहरु सुनाएका हुन् ।
सत्ता गठबन्धनबाट संघीय संसदको उम्मेदवार बनेका पोखरेलसँगै महोत्तरी १ (ख) बाट उम्मेदवार बनेका माओवादी नेता भरत साह पनि पत्रकार सम्मेलनमा उपस्थित थिए ।
त्यसक्रममा पूर्वमन्त्रीसमेत रहेका पोखरेलले सांसद र मन्त्री हुँदा महोत्तरीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफूले दीर्घकालिन महत्व राख्ने धेरै काम गरेको बताए ।
विगतमा आफूले गरेका काम र सत्ता गठबन्धनका दलको साथले आफू पुनः चुनावमा विजयी हुने विश्वास पनि उनले व्यक्त गरे ।
‘महोत्तरी १ मा मलाई गठबन्धनका दलको साथ छ,’ पोखरेलले भने, ‘यो क्षेत्रमा सांगठानिक रुपमा माओवादीको अवस्था राम्रो छ। मैले विगतमा यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको छु । अझै पनि धेरै कामका योजनाहरु छन् । यसपटक पुनः चुनाव जित्ने मेरा मुख्य आधारहरु यिनै हुन् ।’
उनले जिल्लामा चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवारलाई विजयी बनाउने गरी दलहरुबीच समन्वय र समझदारी बनेको बताए ।
महोत्तरी १ का दुबै प्रदेशसभाका क्षेत्रमा माओवादी केन्द्रबाटै बागी उम्मेदवारी परेको छ । महोत्तरी १ को (क) मा नेता राजन ढुंगाना र (ख)मा विष्णु लामाले उम्मेदवार दिएका छन् । महोत्तरी १ को (ख) मा माओवादीले भरत साहलाई उम्मेदवार बनाएको छ ।
‘बागी उम्मेदवारी निस्क्रिय बनाउन पार्टी केन्द्रले नै आग्रह गरेको छ,’ पोखरेलले भने, ‘उहाँहरुले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्नुहन्छ भन्ने मेरो विश्वास छ ।’ बागी उम्मेदवारी फिर्ताको लागि पहल भइरहेको पनि उनले जानकारी दिए ।