
काठमाडौं- सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायमै रहने बताएका छन्।
मंगलबार संयुक्त अपिल जारी गर्दै उनीहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
उनीहरूले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने उल्लेख गरेका छन्। ‘‘नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरू प्रतिबद्ध रहेका छौँ। लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार हो’’, अपिलमा भनिएको छ।
पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको उनीहरूले बताएका छन्।

