गौशाला (महोत्तरी) । महोत्तरीमा बालक अपहरण प्रयासमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत वैशाख ७ गते अपराह्न करिब ४ बजे तीन जना अपरिचित व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक आठ वर्षीय बालकलाई जबर्जस्ती राखी अपहरण गर्ने प्रयास गरेका थिए।
बालकलाई मोटरसाइकलमा लैजान खोज्दा बालक चिच्याउन थालेपछि स्थानीयवासीले देखेर मोटरसाइकल रोक्ने प्रयास गरेका थिए। त्यसपछि आरोपितहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए।



स्थानीयवासीको सक्रियतापछि बालकको उद्धार भएको र घटनास्थलबाट बा.६७ प ७७१० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले अपहरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै फरार प्रतिवादीहरूको खोजी तीव्र पारेको थियो। सोही क्रममा रौतहट जिल्लाको गौर नगरपालिका–७ निवासी २३ वर्षीय नवाज अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीका अनुसार महोत्तरीबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा गौर नगरपालिका–५ स्थित अस्पताल चोकबाट आइतबार अपराह्न उहाँलाई पक्राउ गरेको हो।
पक्राउ परेका अधिकारीविरुद्ध अपहरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उहाँलाई यसअघि नै महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो।




