जनकपुरधाम : आगामी फागुन १ गते देखि जयनगर–कुर्था रेलमार्ग सञ्चालन हुने भएको छ । औपचारिक उद्घाटन नभएपनि दैनिक एकपटक रेल चलाउन लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
महाप्रबन्धक झाले यात्रुको चाप पहिचान गर्न, अतिक्रमित जग्गा खाली गराउन र दैनिक लागत पत्ता लगाउन रेल सञ्चालन गर्न लागिएको बताए ।
रेल सेवाको उद्घाटन दुई देशका प्रमुखबाट हुने भएकाले अहिले यकिन मिति तय नभएको बताए ।
रेल्वे सञ्चालनका लागि ६० जना कर्मचारी तयारी अवस्थामा रहेका छन् । २६ भारतीय र ३४ जना नेपाली कर्मचारीले काम गर्नेछन् । १४ भारतीय कर्मचारी नेपाल आइसकेको र नेपाली कर्मचारीहरूलाई उनीहरूले नै तालिम दिएका छन् । प्रमुख कामको जिम्मा भारतीय कामदारलाई दिइएको छ ।
भारतको जयनगर देखि नेपालको कुर्थासम्म एसी चलाएर रेल सञ्चालन गर्दा दैनिक २८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ । सर्भिसिङ भारतको सोनपुरमा हुने बताइएको छ ।
नेपाल सरकारले खरिद गरेको दुई सेट रेल ०७७ असोज २ गते नेपाली भूमीमा आएपछि सञ्चालन हुन सकेको छैन् । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेशनमा राखिएको छ ।