
जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले चुनावीसभा गर्न निर्वाचन आयोगले लगाएको रोकप्रति आपत्ति जनाएका छन्।
निधिले आगामी निर्वाचनका लागि मंसिर ४ गते हुने मतदानको १७ दिनअघि मात्र कोणसभा, चुनावी सभा लगायतका कार्यक्रम गर्न पाउने आयोगको निणर्यप्रति आपत्ति जनाएका हुन्।
आयोगले जारी गरेको आचारसंहिताको पहिलो संशोधनमा उम्मेदवारहरूलाई घरदैलो गर्न केही खुकुलो बनाए पनि आमसभा, चुनावीसभा, कोणसभालगायतका कार्यक्रम गर्न कडाइ गरेको छ।
आचारसंहिता अनुसार आगामी निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले कात्तिक १७ गतेपछि मात्रै यस्ता चुनावी कार्यक्रम गर्न पाउने भएका छन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले भेला, आमसभा, गोष्ठी, सेमिनार लोकतन्त्रको अपरिहार्य क्रिया, लक्षण र प्रतिक रहेकोले रोक लगाउनु अनयुपक्त रहेको बताएका छन्।
‘भेला, आमसभा, गोष्ठी, सेमिनार लोकतन्त्रको अपरिहार्य क्रिया, लक्षण, प्रतीक हो। सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक अधिकार हो,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
लोकतंत्रमा आवधिक निर्वाचनद्वारा जनताले आफ्नो प्रतिनिधि रोज्छन्।निर्वाचन पूरा हुनासाथ दलहरुले अर्को निर्वाचनमा मत पाउन तथा आयोगले मतदान गराउन तयारी थालिहाल्छन्।
बिचको पुरैअवधि काम गरि रहनुपर्छ।
अत: मौनअवधि बाहेक कहिले पनि आमसभा र प्रचार रोक्न मिल्दैन,रेगुलेट मात्रै गर्नेहो।— Bimalendra Nidhi (@BimalendraNidhi) October 18, 2022
निधिले चुनावका बेला मौन अवधि बाहेक यस्ता कार्यक्रम र गतिविधि रोक्न नपाइने जिकिर गरेका छन्।
उनले भनेका छन्,‘यो सँधै निर्वाध प्रयोग हुने विषय हो। कानुन र निर्देशिकाले निषेध गर्न पाइँदैन, व्यवस्थित (रेगुलेट) गर्ने मात्रै हो। मौन अवधिबाहेक रोक्नु उचित होइन। दलहरू कसरी सहमत भए?’
निर्वाचन आचारसंहिता, २०७९ को पहिलो संशोधनको दफा १३ को खण्ड ‘म’ ले प्रचारप्रसारसम्बन्धी व्यवस्था गरेको छ।
‘उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारसम्बन्धी जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने’ दफा १३ को खण्ड ‘म’ मा भनिएको छ।
भेला,आमसभा,गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया,लक्षण,प्रतीक हो।सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक
अधिकार हो।यो सधैं निर्वाध प्रयोग हुने विषय हो।कानुन र निर्देशिकाले निषेध गर्न पाईदैन,व्यवस्थित( रेगुलेट)गर्ने मात्रै हो।मौनअवधि वाहेक रोक्नु उचित होइन।दलहरु कसरी सहमत भए!?— Bimalendra Nidhi (@BimalendraNidhi) October 18, 2022
मतदानको दुई दिन अघिबाट मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल र उम्मेदवारहरूले १५ दिनका लागि मात्रै कोणसभा, चुनावी सभा लगायतका कार्यक्रम गर्न पाउने छन्।