
महोत्तरी(औरही)- मधेस प्रदेशका चर्चित नेता शरदसिंह भण्डारी अहिले महोत्तरी क्षेत्र– २ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा समेत यही क्षेत्रबाट भारी मतले विजयी भएका भण्डारीले अहिले पनि यही क्षेत्रलाई सुरक्षित देखेका छन् । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी ५ दलबाट बाहिरिएपछि लोसपाको प्रवेश भएसँगै भागबन्डाअनुसार भण्डारी साझा उम्मेदवार पनि हुन् । यसैले पनि निर्वाचनमा आफ्नो कोही पनि प्रतिस्पर्धी नभएको उनको दाबी छ ।
२०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोसपाका वरिष्ठ नेता भण्डारी २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी भएका थिए । २०३८ सालदेखि हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका भण्डारी २०७४ सालसम्म आइपुग्दा ३ पटक पराजित भए भने ५ पटक विजयी बने । राष्ट्रिय पञ्चायत निर्वाचन २०३८ र २०४३ बाहेक उनी हरेक पटक पार्टी परिवर्तन गरेर निर्वाचन लडेका देखिन्छ । भण्डारी २०५१ सालको मध्यावधि निर्वाचनमा स्वतन्त्र भएर समेत विजयी भएका थिए ।नेता भण्डारीले अहिलेसम्म ६ वटा दलहरूलाई प्रयोग गरेर सत्ताको स्वाद लिइसकेका छन् । यस निर्वाचन क्षेत्रमा भण्डारीको नवौँ उम्मेदवारी हो ।
२०३८ देखि २०७४ सालसम्म्म आइपुग्दा दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा पनि उनी दर्ज भएका छन् । उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरी १५ पटक सरकारमा सामेल भएका छन् । २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निकटतम प्रतिद्वन्द्वीलाई झण्डै दोब्बर मत अर्थात् ३० हजार ७२२ मतले पछि पार्दै उनी विजयी भएका थिए । भण्डारीका प्रतिद्वन्द्वी अघिल्लो निर्वाचनमा भन्दा बढी छन् । सत्ता गठबन्धनइतरमा पनि जसपा र एमालेको गठबन्धन छ । उनका प्रतिस्पर्धी एमालेबाट डा. रामपरीक्षण यादव बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । त्यसो त मत काट्नकै लागि जनमत पार्टीबाट उमेश यादव वकिल, तराई–मधेस लोकतान्त्रिक पार्टीबाट डा. विजय सिंह पनि भण्डारीका चुनौती बनेका छन् ।
स्थानीय तहमा प्राप्त नतिजालाई जोड–घटाउ गर्ने हो भने पनि नेता भण्डारीलाई पहिलेजस्तो सहज छैन यस पटक । यस क्षेत्रमा ४ वटा पालिका पर्छन्– बल्वा, महोत्तरी, लोहारपट्टी र पिपरा । महोत्तरी गाउँपालिकाको वडा नं.– ६ र पिपराको वडा– ६ बाहेक सबै वडाहरू यसै क्षेत्रमा पर्छन् । लोसपाले स्थानीय तहको निर्वाचनमा बल्वा नगरपालिकामा पालिका प्रमुख, वडा– ६, ८, ९ मा मात्र जित हासिल गरेको थियो । बल्वामा निकटतम प्रतिद्वन्द्वी जसपा छ । यता, महोत्तरीमा पालिका अध्यक्षमा तमलोपाले जितेको थियो तर वडामा भने लोसपाले वडा– १ र ६ मा मात्र जित्दा बहुमत भने तमलोपाको नै छ ।
वडा– ६ पनि यस क्षेत्रमा नपर्ने भएकाले नेता भण्डारीको मत उनको नियन्त्रणबाट निकै टाढा छ । महोत्तरी गाउँपालिकामा त अझ विशेषगरी दोस्रो पार्टी एमाले नै देखिएको हुनाले जसपा र एमालेका साझा उम्मेदवार डा. रामपरीक्षण यादवलाई थप सहयोग पुग्ने देखिन्छ । तमलोपाबाट डा. विजय सिंहसमेत प्रतिस्पर्धी हुनाले थप चुनौती थपिएको छ । बाँकी पालिकामा पनि लोसपाको स्पष्ट बहुमत भने छैन ।
लोहारपट्टीमा भने कांग्रेसले जितेको थियो । वडा– १, २, ३, ४, ६ मा कांग्रेसले जित्दा लोसपाले भने वडा– ५ र ९ मात्र जितेको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार भएको हुनाले यस पालिकामा नेता भण्डारीलाई फाइदा नै पुग्ने देखिन्छ । तर, कांग्रसभित्रै किरण यादवले टिकट नपाएपछि एउटा समूहमा असन्तुष्टि चुलिँदै गएको छ। यसको प्रत्यक्ष असर भण्डारीलाई पर्ने देखिएको छ । यदि किरण यादवलाई मिलाएर कांग्रेसले गठबन्धनलाई सहयोग गरे नेता भण्डारीले फाइदा लिन सक्ने पालिका नै यही हो । पिपरामा भने एउटै वडा वडा– ६ यस क्षेत्रमा पर्छ । यो वडा भने लोसपाले नै जितेको छ तर पालिका अध्यक्षसहित धेरै वडा जसपाले जितेको हुनाले सत्ता गठबन्धनइतर गठबन्धनलाई फाइदा पुग्ने जानकारहरू बताउँछन् ।
सबै मतदाताहरूको सङ्ख्यालाई जोड–घटाउ गर्ने हो भने भण्डारी नै बलियो उम्मेदवार हुन् । यदि गठबन्धनभित्र असन्तुलन कायम रहे र साङ्गठनिक संरचनालाई मात्र आँकलन गरे भण्डारी पनि खतरा क्षेत्रमा रहेको विपक्षी दलहरूको आँकलन छ । त्यसो त नेकपा (एकीकृत समाजवादी)बाट मञ्जु यादव र जयनुल राइन गठबन्धनभित्रैबाट उम्मेदवार छन् । गठबन्धनको स्पष्ट निर्णय नआइरहेको अवस्थामा चुनावी प्रचारप्रसारमा समेत असर परेको छ। गठबन्धनका विरुद्ध उम्मेदवारी दिएका कतै लोसपा र कतै नेकपा एसले आ– आफैँ आधिकारिक भएको दाबी गरिरहेका छन् ।
त्यसैगरी भण्डारीलाई बागी उम्मेदवार बनेकाहरूले पनि चुनौती थपिएको छ । साविकका लोसपाका नेताहरू बागी भएर उठ्दा नेता भण्डारीलाई थप चुनौती थपिएको हो । राजपा र लोसपाका विभिन्न कमिटीमा बसेर काम गरिसकेका डा. सिंह पनि चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा भण्डारीसँगै प्रदेशसभामा निर्वाचित सुरिता साह अहिले बागी उम्मेदवार बनेकी छन् । प्रदेशसभामा बागी बनेकी साह सहित जानकीशरण साह र सत्ता गठबन्धनमा आवद्ध नेकपा एसकी निवर्तमान सांसद मञ्जु यादव थप चुनौती बनेका छन् ।
हुन त नेता भण्डारीले चुनावमा लडेका सबैलाई नै उतिकै प्रतिष्पर्धिकाे रूपमा लिएको बताउँछन् । उनले सबै उम्मेदवारहरू अहिले परिक्षामा बसेकाे र जनताले अब जसले राम्रो गरेकाे छ, र जनताकाे लागि राम्रो गर्नेलाई नै लाई जिताउने बताउँछन् । उनले यदि आफुले यदि राम्रो गरेको भएको पक्कै पनि फेरि माैका दिनेमा विश्वास व्यक्त गरेका छन्।