
महोत्तरी(औरही) - दशैँ सकिएसँगै महोत्तरीको विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली र छठ नजिकिँदै जाँदा यी पर्वलाई लक्षित गर्दै मल्लिक(डाेम) समुदायले बाँसको चोयाबाट बनाएका सामग्रीको बजारमा माग अत्यधिक बढेको छ । माग बढेकाले तराईका हाटबजारमा बाँसको सामग्रीको बिक्री पनि बढेको औरही नगरपालिका वडा नम्बर १ का ईन्दल मल्लिक र जितेन्द्र मलिक आफ्ना परिवारका सबै सदस्यहरुसँग डालो,नाङ्लो,टपरी लगायतको सामग्री बनाउन दिनभरि व्यस्त देखिन्छन् ।

दिनानुदिन छठ पर्व मनाउनेहरुको सख्या बृद्धि हुँदै जाँदा बासको चोयाबाट बनाएको ती समाग्रीहर सबैलाई पुरयाउन सकस भएको मल्लिक बताउँछन् । मल्लिक मुसुक्क मुस्कान दिदैँ भने ‘व्यापार राम्रो भईरहेको छ । यसपालि राम्रो आम्दानी गर्नुको साथै छोराछोरीको भविष्यका लागि आर्थिक बचत पनि गरेको छु ।’ आम्दानीको स्रोत नै बंगुर पालन र बासको सामाग्री बनाएर बेच्नु रहेको बताउँदै मल्लिकले भने ‘पुष्तौ पुष्ता देखि यहीँ पेशाबाट सबै पारिवार गुजरा गर्दै आएको छाैं।’ गुठीको जग्गामा घर बाहेक अरु केही आँफुसंग नभएको मल्लिकले बताए ।

उनेले भने ‘एउटा बाँसको अहिले बजारमा रु.दुई सय पच्चीस देखि तीन सयसम्म पर्छ । त्यस बाहेक अरु केही खर्च लाग्दैनन्, सामाग्री तैयार पार्न । तीन सयको खर्चमा राम्ररी मेहिनेत गरे १ हजार देखि १५ सय सम्म कमाउन सकिन्छ ।’ मल्लिकले आफ्ना समुदायका व्यक्तिहरुले बनाएका समाग्रीहरु बेच्न विभिन्न बजार र छुटाछुट्टै गाँउ छुट्टयाइएको बताए । उनले ती समाग्रीहरु बेचेर आफुहरुले चाड पर्वको बेला गाँउका साउ महाजनबाट पनि अलिकती आम्दानी हुनेगरेको बताउँछन् । प्राथमिक शिक्षा सम्म अध्ययन गरेका जितेन्द्र मलिकले घरको आर्थिक स्थिती कमजोर रहेकाले छोरा लाई पनि प्राथमिक शिक्षा सम्म मात्र पढाउन सकेको दुखेसो पोखे । तर उनी छोरी लाई सकेसम्म पढाउने आँट गरेका छन् ।

विगतमा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने तर छठ आउन दुई साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको ईन्दल मल्लिक र जितेन्द्र मल्लिकले बताए । छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनियालगायतका सामग्री बिक्री भइरहेको अर्का स्थानीय संजित मल्लिकले बताए ।
यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिने चलन छ । यहाँका मल्लिकले बनाएका बाँसका सामग्री महोत्तरीको औरही,गौशाला,बर्दिवास,रामगोपालपुर र भंगहा सहित विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा डुम, डोम, मेहत्तर वा मल्लिक भनेर चिनिने गरेको र उहाँ श्रममा विश्वास गर्दै पुख्र्यौली पेसाका रूपमा बाँसको सामग्री बनाउँदै बिक्री गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।

विवाह, व्रतबन्ध र चाडपर्वमा तथा धेरै मात्रामा स्थानीयको महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको छठको समयमा भने यी सामग्रीको माग बढी हुने गरेको सर्लाहीका अशोक मल्लिकले बताए । मौसमी रूपमा बाँसको सामग्री बनाउने पेसा फस्टाउँदै गएको देखिए पनि समग्रमा समस्याग्रस्त रहेको उनको गुनासो छ ।

केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर धरान, इटहरीसहित देशको राजधानी काठमाडौँ र हेटौँडा, पोखरालगायतका स्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ बनाइएका बाँसको सामग्री छठ पर्व मनाइने धरान, इटहरी, काठमाडौँ र विभिन्न सहरमा पनि निर्यात हुने गरेको दाबी गरिएको छ । यहाँका मल्लिक परिवारले प्रतिपरिवार खर्च कटाएर छठ पर्वका बेला एक लाखदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन्।



यस वर्ष कात्तिक १३ गते महोत्तरी लगायत देशभरि छठ पर्व मनाइने भएको छ ।