
जनकपुरधाम- स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँ सहित जनकपुरधामबाट महोत्तरीका एक युवक पक्राउ परेका छन्।
महोतरीको भंगहा नगरपालिका १ बस्ने २१ वर्षीय सुवम राज चौवेलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।'
निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप आइतवार साँझ करिब साढे ४ बजेको समयमा भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपाल ल्याउदै गरेको विशेष सूचनाको अधारमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाबाट युवकलाई रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
१५० सिसिको अनटेस्ट मोटरसाईकलमा सवार चौवेले बोकेको कालो रंगको व्यागबाट एक हजार दरको २९ बण्डलमा २९ लाख र पाँचसयको १९ बण्डलमा साढे ९ लाख गरी साढे ३८ लाख बरामद गरिएको छ ।
बरामद गरिएको रकम सहित युवकलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।