जनकपुरधाम- जनकपुरधाम सहित मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ ।
दीपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर-घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो ।

दिपावलीको लागि आइतवार देखि नै केराका थाम ट्याक्टर तथा बयलगाडामा लोड गरेर किसानहरू जनकपुरधाम बजारमा घुमिरहेको देखिएको छ ।
केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार पुर्याई आफूले २५०-३०० रुपैयाँका दरले बेचि रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर-३ पकडीयाका किसान सुशील सिंहले बताए । उनले यसबाट राम्रै आम्दानी हुने गरेको समेत जानकारी दिए ।

आज सोमवार दीपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले आइतवार देखि नै केराका थामको बिक्री धमाधम भईरहेको किसानहरु बताउँछन्। धनुषा, महोत्तरीका गाउँनगर बस्तीमा केराका थाम नै लाखौंको बिक्री भइरहेको छ ।
दिपावलीको लागि जनकपुरमा मात्रै आइतवार र सोमबार करिव ८-९ हजार थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन् । ‘केराको झ्याङ्मा बोट गाँजिएर केही बोट (थाम) उखेल्नु नै पर्ने भएको थियो’, बर्दिवास नगरपालिका-९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले बताए । ‘अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो तर दीपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न पर्व पर्खेका हौं ।’ आज एकैदिनमा १५ हजारभन्दा बढीको केराको थाम बेचिएको उनको भनाइ छ ।
दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्परानुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ । यसपालि थामका लागि एकसाता पहिलेदेखि नै बैना (पेश्की) लिइएको किसानले बताएका छन् । कसैकसैले चार थामको र सामान्यतया दुई थामचाहिँ आमरूप मै स्वागतद्वारमा लगाइने चलनले दीपावली पर्वमा केरा थामको राम्रो व्यापार हुँदै आएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ पकडियाका किसान रामनारायण सिंहको भनाइ छ ।
पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थाम (बोट) बाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ । पर्वको ठीक बेला थाम नपाइन सक्ने र त्यसबेला महँगो पर्ने भएकाले एक साताअघिदेखि नै झ्याङ (केराघारी) मै गएर मोल तय गरिएको थाम किन्नेहरूले बताएका छन् ।
खासगरी धनुषा,महोत्तरीका बजार स्थित व्यापारिक प्रतिष्ठानका सञ्चालकहरु अहिले केराको थाम खरिद गर्न गाउँबस्ती चहारिरहेको छ ।
महोत्तरीको भङ्गाहा नगरपालिका-४ का ब्यावसायिक रूप मै केरा खेती गर्दै आएका किसान सत्यनारायण यादवले आपूmले ३५ हजारको केराको थाम बेचेको बताए । ‘हेर्नुहोस्, राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट रहनु हुँदैन, बोट त छाँट्नु नै पर्छ’, लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गरेका यादवले भने, ‘यस्ता झ्याङमा हामी बोट छाँट्न दीपावली पर्व पर्खने गरेका छौं ।’

त्यत्तिकै उखेलेर फाल्नै पर्ने बोट दिपावली तिहारमा भने आयआर्जनको राम्रो स्रोत बन्ने गरेको किसानहरु बताउँछन् ।
पर्व विशेषमा धनुषाको मुख्य बजार जनकपुधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार, विरेन्द्रबजार सहित र महोत्तरीका मुख्य बजार बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा ,जलेश्वर नगर सहित व्यापारिक प्रतिष्ठानका सञ्चालक थामको खोजीमा बस्तीबस्ती पसेपछि केरा खेती गर्ने किसानले तिहार खर्चको जोहोमा सहयोग पुगेको बताएका छन् । खर्चबर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला व्यापारीहरु घरमै आएर थामको पैसा बुझाएर जाँदा पर्व मान्न सजिलो भएको महोत्तरीको भङ्गाहा नपा-७ हतिसर्वाको झपौल बस्तीका केरा खेती गर्ने किसान रामचन्द्र महराको भनाइ छ ।
दीपावली पर्वमा एकजोडा केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । आफ्नो १० कठ्ठा क्षेत्रफलमा लगाइएको केरा खेतीको प्लटमा नयाँ कोथा बेचेर १५ हजार लिइएको बलवा नपाको भगवतीपुरको किसान ललन महतोले बताए । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आपूmहरूको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसान बताउँछन् ।




