
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।
निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्द सूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको बन्द सूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् ।
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्द सूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्द सूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए ।
निर्वाचन आयोगले संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको छ । उक्त सूची आयोगको वेभसाइट https://election.gov.np/np/page/final-closed-list बाट हेर्न सकिन्छ।
विस्तृत विवरण हेर्नको लागि यस लिंकलाई लगइन गर्नुहोस् ।