
अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकप अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध भारत ५६ रनले विजयी भएको छ। जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो ।
अघिल्लो खेलमा उसले पाकिस्तानलाई ४ विकेटले हराएको थियो । नेदरल्याण्ड्सको भने यो लगातार दोस्रो हार हो ।
ऊ पहिलो खेलमा बंगलादेशविरुद्ध ९ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।
उसका लागि टिम प्रिन्गलले २०, कोलिन एकरम्यानले १७, म्याक्स ओदाउद, बासडी लीडे, सरिज अहमदले १६/१६ र पउलभान मेक्रमले अविजित १४ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन, अर्शदीप सिंह, अक्षर पटेलले दुई/दुई र मोहम्मद शामीले एक विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डसमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १ सय ७९ रन बनायो । उसका लागि पूर्वकप्तान विराट कोहली, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले ।
४४ बलको सामना गरेका कोहलीले तीन चौका र दुई छक्काको मद्दतमा अविजित ६२ रन बनाए । त्यस्तै, रोहितले ३९ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए ।
सूर्यकुमारले ३८ बलमा एक छक्का र सात चौकाको मद्दतमा अविजित ५१ रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि पउलभान मेक्ररम र फ्रेद क्लासेनले एक/एक विकेट लिए ।