
पहिलो दिन १ करोडको आक्रामक ओपनिङ गरेको सिनेमा पहिलो सातामा बलियो देखियो । दोस्रो दिन १.५० करोड कलेक्सन गरेको सिनेमाले तेस्रो दिन ८८.७६ लाख ग्रस बटुल्न सफल भयो ।
महजोडी अभिनित सिनेमाले पहिलो विकेन्डमा ३.३८ करोडको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
सिनेमाको तीन दिने कमाई आक्रामक हो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण सिनेमाले सोमबारपनि राम्रो व्यापार गरिरहेको छ । सोमबार सिनेमाको अकुपेन्सी ६० प्रतिशत माथि देखिएको छ ।
पारिवारिक कथा भएका कारण यसले सम्पूर्ण उमेर समुहलाई हलसम्म तान्न सफल भएको छ । हलमा परिवारसहित सिनेमा हेर्नेको संख्या उच्च देखिएको छ ।
सिनेमा हेरेर निस्कने दर्शक आँखाभरि आशु लिएर फर्किएका छन् । हरेकले सिनेमाको कथाबस्तु र प्रस्तुतिले मनमा छोएको प्रतिक्रिया दिएका छन् । साथै दर्शकले यसलाई सबैले हेर्नै पर्ने सिनेमा भनेका छन् ।
सिनेमाको व्यापारमा कलाकार र निर्देशकको ब्राण्ड भ्यालुले पनि सहयोग पुर्याएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल जस्ता चर्चित कलाकार, ह्याट्रिक निर्देशक प्रदीप भट्टराईको निर्देशन भएका कारण दर्शक हलसम्म ओइरिएका छन् ।
निर्देशक भट्टराईले यसअघि ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रै जात्रा’ जस्ता सफल सिनेमा दिएर दर्शक माँझ कुशल निर्देशकको छाप छोडेका थिए ।
एकल अभिभावकको एक्लोपनको कथा भन्ने सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, सिरु बिष्ट, कोपिला थापा, नरेश पौडेललगायतका कलाकारहरुको अभिनय छ ।
दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दिपेश खत्रीको निर्माण रहेको छ ।