
काठमाडौँ — ३१ लाख ८१ हजार रुपैयाँभन्दा बढी रकम सहित हुन्डी कारोबारमा संलग्न दुई भारतीय नागरिक र १ नेपाली पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा भारत नयाँदिल्ली स्थायी ठेगाना भई हाल ठमेल बस्ने ५० वर्षका कमलकान्त कुल्थिया, राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल र नक्साल बस्दै आएका राजविराज-१ सप्तरीका ६७ वर्षका निर्मलकुमार अग्रवाललाई पक्राउ गरेको हो ।
उनीहरुबाट ३१ लाख ८१ हजार ३ सय ८५ रुपैयाँ नगद, व्यक्ति र संस्थाको नाममा काटिएका केही थान चेकसमेत बरामद भएको छ । उनीहरुलाई बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट बुधबार पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
पक्राउ परेकालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।