धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ (Police of the Month) का रूपमा प्रहरी निरीक्षक मनोज कुमार यादवलाई घोषणा गरेको छ।
कार्यालयका अनुसार प्रहरी निरीक्षक यादवले आफ्नो कार्यकालमा उत्कृष्ट नेतृत्व, उच्च जिम्मेवारीबोध र समर्पणका साथ विभिन्न सुरक्षासम्बन्धी गतिविधिमा उल्लेखनीय योगदान पुर्याएका छन्।



विशेषगरी होली पर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन, जिल्लाभर शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन तथा समग्र सुरक्षा व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै, निर्वाचनसम्बन्धी सुरक्षा तयारी, विभिन्न राजनीतिक कार्यक्रमहरूको व्यवस्थापन तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत उनको सक्रियता प्रशंसनीय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यसैगरी, जिल्लाका संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती, चेकजाँच र निगरानीलाई प्रभावकारी बनाउँदै शान्तिपूर्ण वातावरण कायम राख्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए।
उनको कर्तव्यनिष्ठा, उच्च व्यावसायिकता र नागरिकप्रतिको उत्तरदायित्वलाई कदर गर्दै फागुन २०८२ का लागि उत्कृष्ट प्रहरीका रूपमा घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले उनलाई सम्मानपत्र प्रदान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यको अपेक्षा व्यक्त गरेका छन्।





