
जनकपुरधाम- ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो ।
२० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका) ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो ।
विधि विज्ञान प्रयोगशाला काठमाडौंले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सोनाली सिंहको वकिल रिंकु यादवले बताईन् ।
जिल्ला प्रहरी, सरकारी वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो।
शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।
शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गर्दा बसेको गर्भबाट सोनालीले बच्चा भएको आरोप सोनालीले लगाउँदै आएकी छिन्। आरोपित शिवराज श्रेष्ठले आफूहरु बीच शारीरिक सम्पर्क भएपनि बच्चा आफनो नभएको दावि गर्दै आएको थियो ।
जिल्ला अदालत धनुषाका न्यायधिश परशुराम भटटराइले ०७८ माघ २४ गते शिवराजलाई सफाइको फैसला गरेको थियो । न्यायाधीश परशुराम भट्टराईले अभियोग दाबी नपुग्ने फैसला गरेका थिए ।फैसलामा उनीहरू प्रेम सम्बन्धमा रहेको, श्रीमान् श्रीमतीकै हैसियतमा बसेको कुरा स्वयम् वादीले स्वीकार गरेको, नाता कायमका लागि निवेदन लेखेको र प्रेमी शिवराज श्रेष्ठलाई छाड्न नसक्ने भनी निवेदन समेत लेखिसकेको सम्बन्धमा यो जबरजस्ती करणी नभएको उक्त फैसलामा उल्लेख छ ।
फैसलामा ‘जाहेरवाली र प्रतिवादीको सम्बन्धको विषयमा र जाहेरवालीबाट जन्म भएको बच्चाको हकमा छुट्टै कानुनी उपचारबाट सम्बोधन हुने नै हुँदा यस मुद्दाको रोहबाट बोलिरहनु परेन’ भनी नाता कायमतिर भन्दा पनि जबरजस्ती करणी भएको हो कि होइन भन्ने सम्बन्धमा मात्रै विश्लेषण गरिएको छ । अभियोग पत्रमै जबरजस्ती करणीको कसुरमात्रै लिएर गएकाले यो मुद्दालाई अदालतले जबरजस्ती करणीको महलमा मात्रै राखेर विश्लेषण गरेको र आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएको थियो ।
पछि जिल्ला अदालतको निणर्य विरुद्ध पुरावेदन गर्दै उच्च अदालत जनकपुरमा पीडितले ०७८ फागुनमा उजुरी दिएकी छिन् ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो ।
उच्च अदालतले लामो समय पेशी नतोकेको र डिएनए परिक्षणको आदेश नदिएको भन्दै पीडित सोनाली सिंह दुई पटक आमरण अनसनमा बसेकी थिइन्। अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको हो ।
निहारिकाले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।
पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।