
जनकपुरधाम — जनकचोकभन्दा उत्तरतर्फ अवस्थित करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका प्रकाशजंंग राणा सम्पर्कविहीन भएका छन् ।
जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएयता राणा सम्पर्कविहीन बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो । ‘मेरी आमाको नाममा रहेको १७० नम्बर कित्ताको जग्गा प्रकाशजङ्ग राणाले आफ्नो नाममा दर्ता गराई गुठी संस्थानमा उक्त जग्गाको मालपोत पनि आफ्नै नामबाट कटाएको देखिन्छ‚’ जाहेरवाला हमालले भने । तर‚ मालपोत कार्यालयको प्लटबुकमा भने जग्गाधनी महलमा अझै पनि गीता रानी राणाकै नाम उल्लेख रहेको हमालले जानकारी दिए ।
‘प्लटबूकमा मेरी आमाको नाम हुनु अनि गुठी संस्थानमा नक्कली लालपुर्जाको आधारमा मालपोत तिरेको रसिद काट्नु सरकारी कागज नक्कल गर्नुभएन ? ’ हमालले पत्रकार सम्मेलनमा भनेका थिए ।
जनकचोकको ठिक दक्षिणमा अवस्थित उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । यसरी करिब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा आफ्नो नाममा दर्ता गराएको आरोप देशपालसिंह हमालको छ ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी परेयता राणा भने सम्पर्क विहीन छन् । जिल्ला प्रहरी कार्यालय धनुषा मुद्दा शाखाका प्रमुख नायव प्रहरी उपरीक्षक दीपकराय राणामाथि किर्ते कागजको आधारमा आफ्नो नाममा जग्गा दर्ता गराएको उजुरी परेको जानकारी दिए ।
यस सम्बन्धमा प्रतिक्रिया लिन राणालाई पटकपटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।