
ए रक्षा बन्धन सबसे बडा तौहार है
बनबालो राखी बेहनाका इसमे प्यार है‘
(अर्थात यो रक्षा बन्धन सबसे ठूलो चाड हो, राखी बाँध्नुहोस् यसमा बहिनीको माया छ )
आज विहिवार धनुषा सहित सम्पूणर् मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भइरहेको छ। रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् ।

मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।

तराई मधेसका जिल्लाहरुमा रक्षाबन्धनको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधेर पर्व हर्सोउल्लासका मनाउने चलन रहेको पण्डित इन्द्रकान्त झा शास्त्री बताउछन् ।

राखी बाँधेर दिदी बहिनीहरुले दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँछन् भने दाजुभाइहरुले उपहार स्वरुप, गच्छेअनुसार बिभिन्न उपहारहरुको साथै गहना र नगदी दिने गर्दछन् । भाइले सधैं दिदीबहिनीहरुलाई अप्ठेरोमा सहयोग गर्ने अपेक्षा राखिन्छ ।

यसैबीच आफ्नो दिदीबहिनी नभएका र दिदीबहिनीहरु भएको ठाउँमा जान नभ्याएकाहरुले पनि विभिन्न तरिका अपनाएर राखी पर्व मनाएका छन् । विभिन्न स्थानमा सामूहिक रुपमा राखी बाँधेर पनि पर्व मनाइँदैछ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका ब्रम्हकुमारी दिदिबहिनीहरुले चिकित्सक, प्रहरी, आर्मी तथा विभिन्न सरकारी कार्यालय कर्मचारीहरुलाई रक्षा बन्धन बाँधेर पर्व मनाइरहेका छन्।

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्यरूपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।

पर्व मनाउनको लागि सार्वजनिक बिदा समेत सरकारले दिएको छ ।
के हो रक्षाबन्धन ?
भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूणर्िमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

यसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित रहेको पुरोहित लालबाबु झाले बताए।
रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी खाने चलन
जनै पूणर्िमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।