जनकपुरधाम- नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुन आवश्यक रहेको बताएका छन् । महतले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधान मार्फत अघि बढ्ने बताए ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने, “नेकपा एमाले आफ्नै पार्टीलाई त एकिकृत गरि राख्न नसकेकाले हुँदा देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको छ।”
प्रवक्ता महतले संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको बताए । उनले गठबन्धनमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
नेपाली कांग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेको स्पष्ट गर्दै आगामी निर्वाचन पश्चात् पनि देशमा कांग्रेसकै नेतृत्वमा यही गठबन्धनको सरकार बन्ने दाबी उनले गरे ।
प्रवक्ता डा. महतले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेको अवरोधका कारण लागू गर्न नसकेको पनि स्पष्ट गर्नुभयो ।
प्रवक्ता डा. महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताउँदै उनले भने, “विगतका सरकारले देशमा स्थिरता कायम गर्न सकेनन्, मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्छ ।”
“मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ । काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन । देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ” डा. महतको कथन थियो ।
प्रवक्ता महतले कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार नै काम गर्ने को दाबी गरे ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार सहितका कांग्रेसका जिल्ला नेताहरुको उपस्थिति थियो ।