
जनकपुरधाम- प्रतिनिधिसभाको चुनावका लागि धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धन कायम रहे पनि एमाले जसपा गठबन्धन हुन सकेको छैन् ।
एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवले उम्मेदवारी दिएका छन् । जसपाका उम्मेदवार महाजन यादवले आफू विरुद्ध भोट काट्नका लागि मात्र उम्मेदवारी दिएको प्रचार भएको जनाउँदै सामाजिक सञ्जालमा पीडा पोख्ने गरेका छन् । ३० वर्षदेखि आफ्नो परिवारबाट हरेक चुनावमा उम्मेदवारी दिने गरिएको बताउँदै यादवले त्यसलाई निरन्तरता दिएको बताउने गरेका छन् । यादवले दाबी गरे बमोजिम उम्मेदवारी परे पनि जितेको साल भने उल्लेख गर्दैनन् । सरकारी प्राविधिक सेवाबाट अवकाश प्राप्त गरेको ६ वर्षमै उनी दोस्रो पटक सो क्षेत्रमा उम्मेदवार भएका छन् । जसपाको छाता छापबाट चुनाव लडेका यादवले हारको तीन दशक लामो क्रम भंग गर्ने अवस्थामा यसपटक नरहेको स्थानीय मतदाताहरु बताउँछन् ।
उम्मेदवारी दर्ताको दिन जसपाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय समिति, प्रदेश ‘क’ को प्रदेश कमिटी, पालिका र अधिकांश वडा कमिटी नेपाली कांग्रेसमा विलय भइसकेकाले संगठनात्मक रुपमा जसपा कमजोर भएको सो पार्टीका नेताहरुले स्वीकार्ने गरेका छन् । तर चुनाव जित्ने निश्चित रहेको जसपा जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साहको दाबी छ ।
जसपाबाट प्रतिनिधिसभाका उम्मेदवार यादवलाई आफ्नै संगठनबाट पूर्ण सहयोग प्राप्त नभएको गुनासो पनि छ । उनको घर भएको लक्ष्मीनियाँ गाउँपालिकामा जसपाबाट अध्यक्ष पदका उम्मेदवार डा. शत्रुधन यादव कांग्रेसमा प्रवेश गरिसकेका छन् । निवर्तमान अध्यक्ष विन्देश्वर यादव कांग्रेसमा र उपाध्यक्ष इन्द्रकला यादव एमालेमा प्रवेश गरिसकेकी छन् । २०७४ सालको चुनावमा उनको तेस्रो स्थान थियो । सो क्षेत्रबाट निवर्तमान सांसद रहेका महासेठ एमालेबाट नै यसबाट जित हासिल गर्ने कसरत गरिरहेका छन् ।
२०७४ सालमा माओवादी केन्द्र र एकीकृत एमालेसमेत रहेको बेला महासेठले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरेका थिए । तर यस पटकको गणित फरक छ ।
माओवादी केन्द्र, विभाजित एमालेको नेकपा एस कांग्रेसको गठबन्धनमा रहेका छन् । एमालेले जितेका पालिकाहरुमा कांग्रेसले स्थानीय तहमा जित हासिल गरेको अवस्था छ । त्यसकारण एमालेका उम्मेदवार महासेठका लागि जित सहज छैन् ।
कांग्रेसका महेन्द्र यादव र एमालेका महासेठबीच सोझो प्रतिस्पर्धा रहेको स्थानीय मतदाताहरु बताउँछन् । लक्ष्मीनियाँ गाउँपालिकाका नवलकिशोर यादवले चुनावमा जितको अहिले नै निष्कर्ष निकाल्न हतार हुने बताउँछन् । ‘ क्षेत्र र प्रदेशका मतदाताहरु परिवर्तनको पक्षमा रहेका छन्’ उनले भने, चुनावको परिणामपछि नयाँ अनुहार नेतृत्वमा देखिदा आश्चर्य हुने छैन् । स्थानीय तहको चुनावको मतपरिणाम अन्य सबै दलको भन्दा बढी रहेको दाबी गर्दै लक्षमीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले भने, कांग्रेसमा जसपा, एमाले लगायतका दलहरुबाट भारी संख्यामा नेता, कार्यकर्ता र समर्थकहरु प्रवेश गरेकाले कांग्रेसका उम्मेदवारहरुको प्रतिस्पर्धा नै छैन् ।
प्रतिनिधि र प्रदेश दुबैमा कांग्रेसले एकतर्फी जित हासिल गर्ने बताउँदै अध्यक्ष मिश्रले चुनाव प्रचारमै पनि धेरै अगाडि रहेको बताए।
प्रदेश ‘क’ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । जसपा प्रदेश कमिटीका उपाध्यक्ष शेषनारायण यादव कांग्रेसको टिकटमा प्रदेश सभाको चुनाव लडिरहेका छन् । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारलाई सघाएको आरोप लागेका ज्ञानेन्द्र यादव जसपाको टिकट फेरि पाएका छन् । कांग्रेसमा धनुषाको सभापतिमा पराजित भएका सन्तोष यादव एमालेबाट प्रदेश चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।
समग्रमा कांग्रेसको संगठनात्मक संरचना बलियो छ । तर कांग्रेस छाडेका सन्तोष र जसपा छाडेका शेषनारायणले दाबी गरे जस्तै ज्ञानको पनि दाबी छ । ज्ञानेन्द्र यादव निवर्तमान प्रदेश सभासद हुन्। प्रदेश ‘क’ मा प्रतिस्पर्धी उम्मेदवारहरु मध्ये शेषनारायण यादव र ज्ञानेन्द्र यादव मधेश आन्दोलनमासँगै रहे पनि संगठनात्मक संचरनामा अलग– अलग गुटमा रहने गरेका थिए । दुबै सहयात्री भए पनि चुनावम प्रतिस्पर्धी बनेका छन् । एमालेका सन्तोष यादव समेत तिनै उम्मेदवार एउटै समुदायका भएकाले प्रतिस्पर्धा रोचक हुनेमा धेरैको विश्वास छ । तर कांग्रेसका नेता मो. इब्राहिम राईनलाई त्यसमा विश्वास छैन् ।
कांग्रेसका उम्मेदवार धेरै मतान्तरले जित्ने उनको तर्क छ । क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एसका उम्मेदवार रहेका मधेश प्रदेशको वन मन्त्री शत्रुधन महतो प्रतिस्पर्धी एमालेका हरिनारायण महतोबाट अग्रता लिएका छन् ।
प्रदेश ‘ख’ मा एसका महतो र एमालेका महतोबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ । एमालेमा दुबै जनासँगै रहे पनि गुट भने फरक थियो ।
स्थानीय चुनावमा हरिनारायण महतोले आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा कारबाहीमा परेका थिए । तर प्रतिनिधिसभाका एमाले उम्मेदवार महासेठले प्रदेश ‘ख’ मा मतको सन्तुलन मिलाउन हरिनारायण महतोलाई अन्तिम समयमा टिकट दिएको बताइन्छ ।