
महोत्तरी- बर्दिबास नगरपालिकाको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन मुख्य भूमिका खेलेका यूवाहरुको समूह नेपाली कांग्रेस नै फर्किएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकंदै गर्दा विगतमा नेपाली कांग्रेसबाटै अलग्गिएका युवाहरु पुनः पार्टीमै फर्किएका हुन्।
फर्किने युवाहरुमा आशुतोष झा, प्रकाश बस्नेत, विकास राई, गुञ्जबहादुर विश्वकर्मा, अक्कल राई, भिमप्रसाद घिमिरे, अम्बर श्रेष्ठ, विवेक गौतम, गोपाल मोक्तान, मलिराम भारती, सुरेश भट्टराई, चन्द्रप्रसाद आचार्य, केशव घिमिरे लगायतका छन् ।
उत्साहित हुँदै स्वतन्त्रलाई समर्थन गरी मेयरमा निर्वाचित गराएपनि सोचेअनुरुपको नेतृत्वले काम गर्न नसक्दा युवा पंक्तिमा निराशा छाएपछि आफुहरु पुनः नेपाली कांग्रेसमै फर्किएको उनीहरुले बताए ।
‘विगतका नेतृत्वले कमजोरी गरे भनेर स्वतन्त्रलाई जिताईयो तर नगरवासीका समस्या समाधानतर्फ नेतृत्व नलागेको गुनासो सर्वत्र छाउन थाल्यो’ कांग्रेस फर्किएका प्रकाश बस्नेतले भने, ‘अहिले फेरी संघ र प्रदेशसभा निर्वाचनमा स्वतन्त्रका नाममा अक्षम उम्मेदवार खडा गरिएकाले हामी पुनः कांग्रेस नै फर्किएका हौं, हामीलाई विश्वास छ अरु साथीहरुपनि चुनावसम्म कुर्नुहुन्छ जस्तो लाग्दैन ।’
बर्दिबास नगरपालिकामा स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर प्रहलाद क्षेत्रीको समर्थनमा महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका पोषण थापाको युवाहरुको प्रवेशले चुनावी समिकरणमा समेत असर पारेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाणले पार्टी पुनः फर्किएका सबै यूवाहरुलाई धन्यवाद सहित स्वागत गरेकी थिईन् ।