
जनकपुरधाम - जनकपुरधाम सहित सम्पूणर् मिथिलाञ्चन क्षेत्रमा अहिले चौरचन पर्व मनाइदैछ।मिथिलाका ठूला पर्व मध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूँजा गर्ने परम्परा रहेको छ ।मिथिलामा सूर्यको मात्र होइन मानव सहित सम्पूणर् जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूँजा गर्ने चलन रहेको छ ।यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् ।
चौरचन पर्वका दिन ब्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउछन् । “खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।” कापडीले भने ।
पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका गीतादेवी साह बताउछिन्। प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरीन्छ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङग ठाकुरद्वारा भएको मानिन्छ। ठाकुर आफै ज्योतिष हुनुहुन्थ्यो । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुवात गरेको मान्यता रहेकोे छ।मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई विन्ति गरिन्छ। यस्तो भाकल पाँच दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ।
जनकपुरधाम उपमहानगरपालिका ४ कि ज्योती देवी झा झण्डै एक दशकदेखि यो व्रत बस्दै आउनु भएको छ। चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरि यो पर्व सम्पन्न हुने झा बताउँछन् ।मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहिआएको छ ।
चौरचन पर्वको महत्व
चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद डा राजेन्द्र बिमलले बताउँछन् । उनले भने, “हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफुल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूणर् सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।
”क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिस जन्म लिएपछि उनीहरुले सूर्य र चन्द्रमालाई मात्र हेर्यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ ।चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरि अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र-दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ ।
पर्वको प्रारम्भ
मिथिलाञ्चल क्षेत्रमा मनाईने विभिन्न लोक पर्वहरुको प्रारम्भबारे प्रमाणिक त्यस्तोम केहि उपलब्ध छैन । जसरी यो समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेख रुपमा पाइदैन । यो पीढि दर पीढि हस्तान्तरण हुँदै आए । तर पनि केहि अवधारणाहरु यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई यसरी प्रस्तुत गरिएको छ।
मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्र कै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ ।एउटा वचन आएको छ-‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसके पछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गई सकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाक द्धारा व्यक्त गरिएकोले यसको व्यवहार त्यस भन्दा अगाडी देखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।
चौरचनको कथा
मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको सुन्दर सदनका बाबा नबल किशोर बताउँछन् । बाबा नवल किशोरका अनुसार श्रीकृष्णलाई यसै दिन स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकोले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ ।
त्यसैगरी श्रीमदभागवतमा पनि एउटा कथा रहेकोे छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए।विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे रे यादवले । उनी छिट्टै धनाढ्य हुन पुगे । चारै तिर यो खबर फैलियो। एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन्। मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चकमक्क भयो ।
श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरे । तर उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले । घरमा गएपछि राजाले मणि लिने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जंगल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवन्त नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो ।
जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आयो तब उसको संदेह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलंक धुन श्रीकृष्ण जंगल गए र निकै खोजबिन गरे पछि त्यहाँ उपलब्ध साक्ष्यहरुको आधारमा आशंका गर्दै त्यस गुफा भित्र प्रवेश गरे । दशदिन भन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर न आए पछि सँगै आएका सैनिकहरु निराश भई राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो ।
समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के। वास्तवमा जामवन्त भालुसँग लडाई गर्दै अन्तमा उनलाई हराएर मणिका साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थी कै दिन थियो। श्रीकृष्णको कलंक मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रुपान्तरित भएको विश्वास छ ।