
ढल्केवर- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समुहको समन्वयमा बालअधिकार सचेतना समुहको अगुवाइमा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुर र वडा नं. ४ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालय बटेश्वरमा विद्यार्थीहरुले र्याली प्रदर्शन गरेको छ ।
मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन र निर्वाचनको गतिविधीमा बालबालिका र विद्यार्थीहरुको प्रयोग नगर्न, बालअधिकार रक्षा गर्न, विद्यालय शान्ति क्षेत्र कायम राख्नेलगायतको नारा लगाउँदै विद्यार्थीहरुले रयाली प्रदर्शन गरेका छन् ।

करिव दुई सय विद्यार्थीहरुको सहभागितामा लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु गरिएको रयाली लवकुशबजार हुदै पुनः लक्ष्मी माध्यमिक विद्यालयमा कोणसभामा परिणत गरियो । कोणसभामा बटेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष अशोक महतोले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग नगर्न र नगराउन राजनितिक दलहरुले प्रतिवद्र्धता जाहेर गरि सकेकाले यसको व्यवहारिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा विद्यार्थीहरुलाई प्रयोग गरेको खण्डमा सरोकारवाला निकायहरुले निगरानी गर्नुपर्ने बताउनुभयो ।
शिवशक्ति माध्यमिक विद्यालयका करिव एक हजार विद्यार्थीहरुको सभागितामा निकालिएको रयाली बटेश्वर बजारको परिक्रममा गरेका थिए । आयोजित कोणसभामा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले बालबालिका, विद्यार्थी र विद्यालय शान्ति क्षेत्र भएकाले यसमा चुनावी गतिविधी गर्न नहुने बताउनभुयो । उहाँले चुनावको क्रममा राजनितिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो । कुनै व्यक्ति र दलले बालबालिकाको प्रयोग गरेको खण्डमा सचेत तथा ध्यानाकर्षणका लागि रयाली प्रदर्शन गरिएको बताउनुभयो ।

मानवअधिकार निगरानी समुहका बटेश्वर अध्यक्ष सुरज महतोले निर्वाचनको गतिविधीमा बालबालिकाहरुलाई प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले विद्यालयका बालबालिकाहरुलाई निर्वाचनको सभा, सम्मेलन, रयाली, प्रदर्शन, पर्चा पम्पलेट र प्रचारप्रसारमा सहभागि नहुन आग्रह गर्नुभयो ।
बालअधिकार सचेतना समुहका अध्यक्षका मदनगोपाल कुशवाहा र छात्रा उमा महतोले विद्यालयलाई शान्ति क्षेत्र कायम राख्न चुनावी प्रचार प्रसार र सभा सम्मेलन विद्यालय वरिपरि गर्न गराउन आग्रह गर्नुभयो ।