महोत्तरी — औरही नगरपालिका–२ स्थित ऐतिहासिक तथा पौराणिक महत्वको रामजानकी कुटीमा करिब दुई वर्षदेखि खण्डित अवस्थामा रहेको भगवान रामको मूर्ति स्थानीयको पहल र सामुदायिक सहयोगमा पुनःस्थापना गरिएको छ। नयाँ मूर्तिको प्राण–प्रतिष्ठासहित तीनदिने धार्मिक अनुष्ठान भव्यरूपमा सम्पन्न भएको हो।
स्थानीय पत्रकार तथा समाजसेवी धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ले सामाजिक सञ्जालमार्फत खण्डित मूर्तिको अवस्था सार्वजनिक गरेपछि समुदायमा चासो बढेको थियो। त्यसपछि असोक कुमार मण्डलको नेतृत्वमा सहयोग संकलन अभियान प्रारम्भ भएको हो। अभियानमा नागेन्द्र यादव र नवीन यादवले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक समितिले जनाएको छ।

प्रदेशभरिबाटा आएका भक्तजन तथा स्थानीय बासिन्दाले गरेको सहयोगका आधारमा भारतको वनारसबाट भगवान राम, सीता, लक्ष्मण र हनुमानका नयाँ मूर्तिहरू कुटीमा ल्याइएका थिए। गाउँबासी तथा युवाहरूको सक्रिय सहभागितामा मन्दिरको गर्भगृहमा विधिअनुसार प्राण–प्रतिष्ठा सम्पन्न गरिएको समितिको भनाइ छ।
आइतबार बिहान धुमधामसहित कलशयात्रा र शोभायात्राबाट धार्मिक कार्यक्रम प्रारम्भ भएको थियो। कुटीबाट गौशाला नगरपालिका–३ स्थित पचाईन मन्दिरअगाडिसम्म निकालेको शोभायात्रामा करिब ८ सयभन्दा बढी भक्तजन सहभागी भएको समितिले जनाएको छ। त्यसपछि कुटी परिसरमै पूजापाठ सुरु गरिएको थियो।
सोमबार विशेष पूजा, जलादिवस, फूलादिवस तथा गाउँ परिक्रमा गर्दै पाँच स्थानीय मन्दिरका दर्शन गराएपछि साँझ गर्भगृहमा मूर्तिको प्राण–प्रतिष्ठा सम्पन्न गरिएको हो। मंगलबार बिहान हवन तथा किरतन मण्डलीको रामधुनसँगै धार्मिक कार्यक्रम समापन गरिएको आयोजकले जानकारी दिएको छ।
समुदायको एकता र श्रद्धाले सफल बनेको यस पुनःस्थापनाबारे औरही–२ का समाजसेवी नरेन्द्र यादवले भने, “गाउँले देखाएको सहकार्य, समर्पण र धार्मिक आस्थाको परिणामस्वरूप रामजानकी कुटी पुनः जीवन्त बनेको छ। यो हाम्रो आस्था र संस्कृतिप्रतिको सम्मान हो।”
यस्तै, सोही स्थानका अर्का समाजसेवी दरेश यादवले प्रभावकारी रूपमा भने, “कुटी केवल मन्दिर होइन, यो हाम्रो पहिचान, संस्कार र इतिहास हो। सबै मिलेर गरेको सहयोगले हामीले सांस्कृतिक धरोहर जोगाउँदै नयाँ पुस्तालाई प्रेरणा दिने कार्य गरेका छौँ। यस्तो एकता दुर्लभ हुन्छ र यसले गाउँलाई अझ दृढ बनाउँछ।”
नयाँ मूर्ति प्रतिष्ठापनसँगै कुटी परिसरमा भक्तजनको भीड बढेको छ भने स्थानीयवासीमा विशेष उत्साह देखिन थालेको छ।




