
जनकपुरधाम- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल-भारत सीमा ७२ घण्टा अगाडि बन्द हुने भएको छ ।
जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठकले ७२ घण्टा अघि सीमा बन्द गर्ने निणर्य गरेको हो ।
शनिबार बसेको बैठकले सो निणर्य गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलको अनुसार बैठकमा दुबै देशका सुरक्षा अधिकारी सहभागी थिए । उनीहरुले दुबै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसार पसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा बृहत् छलफल भएको छ ।
बैठकमा अवैध कारोबार नियन्त्रणसम्बन्धी र कारोबार सम्बन्धी गोप्य सूचनाहरु पनि दुबै देशका प्रतिनिधिहरुले आदानप्रदान गरेको प्रजिअ पौडेलले जानकारी दिए।
उनले सूचना अदानप्रदानपछि दुबै देशले रणनीति बनाएर यस्ता गतिविधि नियन्त्रण गर्ने सहमति गरिएको बताए ।
प्रजिअ पौडेलले सीमामा हुने अपराध नियन्त्रणका लागि दुबै देशले समन्वय गर्ने, विपद् पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण र सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्ने लगायतका विषयमा छलफल भएको बताए ।
बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट मध् वनी जिल्लाको मजिस्ट्रेट तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो । समन्वय समितिको बैठक हरेक तीन-तीन महिनामा बस्ने गरेको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाले शनिवार कात्तिक २६ गते देखि जिल्लाभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ।
निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय/सर्वपक्षिय, समन्वय बैठकको निणर्य तथा जिल्ला सुरक्षा समितिको सिफारिश बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार कात्तिक २६ गतेदेखि निर्वाचन कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्यमा प्रतिवन्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
सूचना विपरित निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।