
जनकपुरधाम- “एक हातमा सिन्दुर, अर्कोमा नागरिकता” धनुषा सहित अहिले नेकपा एमालेका सचिव रघुबीर महासेठको यो डायलग अहिले व्यापक चर्चा पाइरहेको छ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरीकता विधेयकमा अंगिकृत नागरीकता बारे उल्लेख नै नभएको कुरालाई एमालेको एक जनसभामा बोलेको यस कुराले अहिले अन्य दलले व्यापक रुपमा प्रचारमा ल्याई चुनावी मुद्दा नै बनाएको छ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेको रघुबीर महासेठको सिन्दुरबाला डायलगले उनको चर्को आलोचना पनि क्षेत्रमा हुँदै आएको छ।
यद्यपी धनुषा ४ मा २०७४ का उम्मेदवारहरु बीच नै पुनः मुख्य प्रतिष्पर्धा देखिएको छ।
प्रतिनिधिसभाको चुनावका लागि धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धन कायम रहे पनि एमाले जसपा गठबन्धन हुन सकेको छैन् ।एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवले उम्मेदवारी दिएका छन् भने सत्तागठबन्धनबाट नेपाली काँग्रेसको सहमहामन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
तीनै जना २०७४ को चुनावमा पनि मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका थिए र यस पटक पनि यहि त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ।
यद्यपी यस पटकको महोल केहि फरक देखिएको छ। गत चुनावमा एमाले र माओवादी गठबन्धनबाट चुनाव जित्न सफल हुनु भएको महासेठलाई यस पटक एक्लो पर्नु भएको छ। केन्द्रमा एमाले र जसपा बीच चुनावी तालमेल भएपनि धनुषा ४ मा दुबैको आफ्नो आफ्नो उम्मेदवार रहेको छ।
यता सत्तागठबन्धनको उम्मेदवार महेन्द्र यादवलाई लोसपा, नेकपा समाजवादी र माओवादीको साथ रहेको छ भने जसपाको एक समूह नै काँग्रेसमा प्रवेश गरिसकेको छ।
जसपाको धनुषाका प्रभावशाली नेता शेषनारायण यादव सहित लक्ष्मीनियाँ गाउँपालिकामा जसपाबाट अध्यक्ष पदका उम्मेदवार डा. शत्रुधन यादव, वडा नं ५ का वडा सभापति नथुनी यादव , लक्ष्मिनियाका भुपु प्रधानपञ्च रामचन्द्र यादव लगायतका समूह कांग्रेसमा प्रवेश गरिसकेका छन् । जसकारण जसपाबाट प्रतिनिधिसभाका उम्मेदवार महाजन यादवलाई आफ्नै संगठनबाट पूणर् सहयोग प्राप्त नभएको गुनासो छ।
यता नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य डा. संजिव यादव, नेकपा एमाले मधेस प्रदेशका सदस्य तथा नेकपा एमाले पार्टीको तर्फबाट मधेस प्रदेश सभा सदस्य समानुपातिक तर्फका उम्मेदवार नेतृ फुल कुमारी महतो सहित दर्जनौं नेताकार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।जसले गर्दा एमालेका रघुबीर महासेठलाई पनि यस पटक चुनाव जितेर आफ्नो विरासत जोगाउन केहि अप्ठ्यारो स्थितीको सृजना भएको स्थानीय स्तरमा चर्चा चलेको छ।
उम्मेदवारी दर्ताको दिन जसपाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय समिति, प्रदेश ‘क’ को प्रदेश कमिटी, पालिका र अधिकांश वडा कमिटी नेपाली कांग्रेसमा विलय भइसकेकाले संगठनात्मक रुपमा जसपा कमजोर भएको सो पार्टीका नेताहरुले स्वीकार्ने गरेका छन् । तर चुनाव जित्ने निश्चित रहेको जसपा जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साहको दाबी छ । उनले यस पटकको गणित फरक रहेको बताउँछन् ।
माओवादी केन्द्र, विभाजित एमालेको नेकपा एस कांग्रेसको गठबन्धनमा रहेका छन् । एमालेले जितेका पालिकाहरुमा कांग्रेसले स्थानीय तहमा जित हासिल गरेको अवस्था छ । त्यसकारण एमालेका उम्मेदवार महासेठका लागि जित सहज नभएको मतदाताहरु बताउँछन् ।
स्थानीय मतदाताहरुले कांग्रेसका महेन्द्र यादव र एमालेका महासेठ बीच नै सोझो र मुख्य प्रतिस्पर्धा रहेको बताउँछन् ।
लक्ष्मीनियाँ गाउँपालिकाका नवलकिशोर यादवले चुनावमा जितको अहिले नै निष्कर्ष निकाल्न हतार हुने बताउँछन् । ‘ क्षेत्र र प्रदेशका मतदाताहरु परिवर्तनको पक्षमा रहेका छन्’ उनले भने, चुनावको परिणामपछि नयाँ अनुहार नेतृत्वमा देखिदा आश्चर्य हुने छैन् । स्थानीय तहको चुनावको मतपरिणाम अन्य सबै दलको भन्दा बढी रहेको दाबी गर्दै लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले भने, “कांग्रेसमा जसपा, एमाले लगायतका दलहरुबाट भारी संख्यामा नेता, कार्यकर्ता र समर्थकहरु प्रवेश गरेकाले कांग्रेसका उम्मेदवारहरुको प्रतिस्पर्धा नै छैन् ।”
प्रतिनिधि र प्रदेश दुबैमा कांग्रेसले एकतर्फी जित हासिल गर्ने बताउँदै अध्यक्ष मिश्रले चुनाव प्रचार मै पनि धेरै अगाडि रहेको बताए ।
प्रदेश ‘क’ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । जसपा प्रदेश कमिटीका उपाध्यक्ष शेषनारायण यादव कांग्रेसको टिकटमा प्रदेश सभाको चुनाव लडिरहेका छन्। स्थानीय तहमा स्वतन्त्र उम्मेदवारलाई सघाएको आरोप लागेका ज्ञानेन्द्र यादव जसपाको टिकट फेरि प्राप्त गरेका छन्।
कांग्रेसमा धनुषाको सभापतिमा पराजित हुनु भएको सन्तोष यादव एमालेबाट प्रदेश चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।
समग्रमा कांग्रेसको संगठनात्मक संरचना बलियो छ । तर कांग्रेस छोडेका सन्तोष यादव र जसपा छोडेका शेषनारायणले दाबी गरे जस्तै ज्ञानेन्द्र यादवको पनि दाबी छ ।
ज्ञानेन्द्र यादव निवर्तमान प्रदेश सभासद हुन्। प्रदेश ‘क’ मा प्रतिस्पर्धी उम्मेदवारहरु मध्ये शेषनारायण यादव र ज्ञानेन्द्र यादव मधेश आन्दोलनमासँगै रहे पनि संगठनात्मक संचरनामा अलग- अलग गुटमा रहने गरेका थिए। दुबै सहयात्री भए पनि चुनावमा प्रतिस्पर्धी बनेका छन् ।
एमालेका सन्तोष यादव समेत तीनै उम्मेदवार एउटै समुदायका भएकाले प्रतिस्पर्धा रोचक हुनेमा धेरैको विश्वास छ ।
तर कांग्रेसका नेता मो. इब्राहिम राईनलाई त्यसमा विश्वास छैन् । कांग्रेसका उम्मेदवार धेरै मतान्तरले जित्ने उनको तर्क छ ।
क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एसका उम्मेदवार रहेका मधेश प्रदेशको वन मन्त्री शत्रुधन महतो प्रतिस्पर्धी एमालेका हरिनारायण महतोबाट अग्रता लिएको देखिन्छ।
प्रदेश ‘ख’ मा एसका महतो र एमालेका महतो बीच नै मुख्य प्रतिस्पर्धा रहेको छ । एमालेमा दुबै जनासँगै रहे पनि गुट भने फरक थियो ।
स्थानीय चुनावमा हरिनारायण महतोले आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा कारबाहीमा परेका थिए । तर प्रतिनिधिसभाका एमाले उम्मेदवार महासेठले प्रदेश ‘ख’ मा मतको सन्तुलन मिलाउन हरिनारायण महतोलाई अन्तिम समयमा टिकट दिएको बताइन्छ ।
यस्तो छ चुनावी अंक गणित
प्रतिनिधि सभामा क्षेत्रमा एमालेका उम्मेदवार रघुवीर यस क्षेत्रका प्रत्यक्ष निर्वाचित संघीय सांसद हुनुहुन्छ। एमाले सचिव समेत रह्नु भएको पूर्व उपप्रधानमन्त्री रघुवीरसंग २०७४ को निर्वाचनमा बर्तमान सत्ता गठबन्धनका काँग्रेस सहमहामन्त्री महेन्द्र र जसपा महाजनसंग कडा चुनावी प्रतिस्पर्धा भएको थियो ।
महासेठ प्रतिनिधिसभा सदस्यमा २२ हजार ५३२ मत ल्याएर महेन्द्र र महाजनलाई पराजित गर्दै जित हात पारेका थिए । रघुवीरका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत पाउनु भएको थियो भने थोरै मात्र कम महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए । यो चुनावमा पनि यी तीनै उम्मेदवार दोहरिएपछि कडा चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीयतहको चुनावको मतभार अनुसार विश्लेषण गरिने हो भने यो क्षेत्रमा काँग्रेस बलियो देखिन्छ ।
धनुषा क्षेत्र नं. ४ अन्तर्गत पर्ने पाँचवटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । क्षीरेश्वरनाथ नरपालिकाको उपमेयर सहित बहुसंख्यक वडा पनि जितेको छ।
एमालेले क्षीररेश्वरनाथ नगरपालिकाको मेयर तथा २ वटा वडा र मिथिला नगरपालिकाको उपमेयर सहित बहुमत वडा जितेको छ।
यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षीरेश्वरको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन। जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९,१३,१४,१९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ ।
यो क्षेत्रमा पर्ने ४२ वटा वडामा पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा थोरबहुत कम बढी काँग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ ।
यद्यपी काँग्रेस पहिलो दलको रुपमा छ । थोरै मात्र मतले एमाले दोश्रोमा छ ।
काँग्रेसले २६ हजार १५९ र एमालेले २४ हजार ३९४ मत पाएको छ । तेश्रोमा जसपाले ८ हजार ३८८, चौथोमा एकीकृत समाजवादीले ८ हजार १६४ र क्रमशः माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १९५० मत पाएको चुनावी तथ्यांक छ ।
यसरी गत स्थानीय चुनावी मतको आधारमा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र अन्य भन्दा बलिया देखिन्छन् ।
काँग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार ९९२ मत सत्ता गठबन्धनसंग रहेको देखिन्छ ।
यस क्षेत्रमा कुलमतदाता ९८ हजार ३६० रहेको छ जसमध्ये धनुषा ४ “क” को कुल मतदाता ४७हजार ७१८ र “ख” को कुल मतदाता ५०हजार ६४२ रहेको छ।
एमाले र जसपाको अलग अलग प्रतिस्पर्धाले चुनाव जित्न महेन्द्रलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ ।
उम्मेदवारहरुको आ-आफ्नै दाबि
सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार महेन्द्र यादवले स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउँछन् ।
“काँग्रेसले पाँच पालिका मध्ये साढे ४ वटा जितेको छ । एकलै ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष छ । गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो” उनले गरे ।
महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभुती र विगतमा यस क्षेत्रबाट जितेका महासेठको व्यवहारले जनता असन्तुष्ट नभएको बताए । उनले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरु गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गरे । “जनता नजिकबाट मलाई चिन्छ्न् बुझ्छन् । म सानैदेखि दुख गरेर नेता भएको हुँ । जनसम्पर्क राम्रो छ । मेरो प्रतिस्पर्धी रघुवीर सामन्ती स्वभावका हुन् । राजनीतिलाई धन्धा बनाएका छन् । श्रीमान श्रीमती दुबै मन्त्री हुँदा राम्रो काम गर्न सकेनन् । जनतामा राम्रो छाप छैन । पञ्चायतकालमा हेमबहादुर मल्ल र शारदा मल्ला जस्तै श्रीमान श्रीमति नै पैसाको बलमा नेता बनेका छन् । नागरिकता मधेशको ठूलो समस्या छ । तर उनी विरुद्धमा छन्” पूर्व मन्त्री समेत रहेका उम्मेदवार महेन्द्रले भने, “जनताले रघुवीरको विकल्प चाहन्छन् । यस कारण जनताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु।”
कांग्रेस उम्मेदवार महेन्द्रले जसपाका उम्मेदवार महाजन यादवलाई उम्मेदवार समेत मान्न तयार छैनन्। यादव समुदायको भोट काट्नको लागि एमाले उम्मेदवार महासेठले महाजनलाई डमी उम्मेदवारका रुपमा खडा गरेको उनको दाबी छ । तर यस क्षेत्रमा बलियो प्रभाव भएका जसपाका नेता शेषनारायण यादवलाई कांग्रेस प्रवेश गराएर प्रदेश सभा (क) को उम्मेदवार बनाएका महेन्द्र भन्छन्, “महादेव डमी उम्मेदवार हो भनेर जनताले थाहा पाइसके, उनीहरुले मेरो भोट रोक्न सक्दैनन् ।”
तर रघुवीर महासेठले आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्रे, खोलाहरुमा पुल लगायतको विकास निर्माण गरको हुँदा जनताले फेरी पनि आफूलाई जिताउने दाबि गर्छन्, “पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो । तर म निर्वाचित भएपछि छोटो समय मै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे । एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन । त्यसैले म प्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ” उनले भने।
स्थानीय तहमा पनि काँग्रेस भन्दा थोरै मत मात्र एमालेको कम आएको र सत्ता गठबन्धनका काँग्रेस तथा एकीकृत समाजवादीबाट ठूलो संख्यामा प्रभावशाली नेताको विद्रोह भएकोले आफू जित्ने दोश्रो आधार रहेको रघुवीरको दावी छ ।
यता, जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने को दावी गर्छन् । उनले विगतमा रघुवीर र महेन्द्र सांसद मन्त्री हुँदा समेत जनभावना अनुसार काम र विकास गर्न नसकेकाले यसपटक आफूलाई जनताले रोज्ने बताए । “रघुवीर र महेन्द्रलाई जनताले नजिकबाट चिनि सकेका छन् । पटक पटक सांसद मन्त्री हुँदा समेत जनअपेक्षा अनुसार काम गर्न सकेनन् । उनीहरुप्रति जनतामा वितृष्णा छ” महाजनले भने, “म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ । ममाथि जनताको ठूलो विश्वास र भरोसा छ । विगतमा झिनो मतले मात्र पराजित भए । यसपटक जनताले ठूलो मतान्तरले जिताउछ । म आशावादी छु ।”