
जनकपुरधाम- प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा भव्य रुपमा मनाइने श्री सीताराम विवाह पञ्चमी महोत्सवको तयारी थालिएको छ ।
प्राचीन मिथिलाका राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवलाई मनाउँदै आइएको छ ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र जगत जननी माता जानकीसँग शुभ विवाहको स्मरणमा अगामी मङ्सिर ७ गतेदेखि सप्ताहव्यापी रुपमा रामजानकी विवाह पञ्चमी महोत्सव मनाउने तयारी सुरु भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। महोत्सवमा भारतबाट जन्ती निम्त्याउने कार्य भइरहेको महन्थ दासले बताए ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले सो अवसरमा लाग्ने मेलाको लागि शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग छलफल जारी रहेको बताए । सुरक्षा र सवारी व्यवस्थापनका लागि सुरक्षा निकायलाई आग्रह गरिएको पनि उत्तराधिकारी महन्थ दासले जानकारी दिए।
मिथिलामा मनाइने विभिन्न चाडपर्व र उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा मनाउँदै आएको छ ।
विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्सिर ७ गते नगर दर्शन, दोस्रो दिन ८ गते फूलबारी लीला, तेस्रो दिन ९ गते धनुष यज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौँ दिन मङ्सिर ११ गते मटकोर, छैंठौं दिन मङ्सिर १२ गते स्वयंवर तथा रात्रि विवाह उत्सव र सातौँ तथा अन्तिम दिन मङ्सिर १३ गते राम कलेवा गरी यस वर्षको सीताराम विवाह पञ्चमी सम्पन्न हुँदैछ ।
हिन्दुहरूको आस्था सित जोडिएको भगवान् सीताराम विवाह महोत्सवको प्रमुख अतिथि यस पटक भारत उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ रहने महन्थ दासले बताए ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन सन्त सतपाल महाराज मङ्सिर १२ गते जनकपुरधाम आउन लाग्नु भएको उनले जानकारी दिए।
भारतीय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महाराज मंसिर १२ गते जनकपुरधाम आउने भएका छन् ।
उत्तराखण्ड सरकारमा सतपाल महाराजले झण्डै १० वटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सतपाल महाराजले उत्तराखण्डको निर्माणमा महत्वपूणर् भूमिका खेलेका थिए ।
सतपाल महाराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।