
महोत्तरी- निर्वाचनको मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी छ । मौन अवधिमा प्रचार गर्न नपाइने भएकाले उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् । मधेस प्रदेशका अधिकांश क्षेत्रमा मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच हुने देखिन्छ।
अघिल्लो चुनावमा यहाँ मधेस केन्द्रित दल र वाम गठबन्धनले धेरै सिट जितेका थिए । तर, यसपटक भने प्रतिस्पर्धी फेरिएका छन् । मधेसमा एमालेले जनता समाजवादी पार्टी जसपासँग गठबन्धन गरेको छ। अर्को मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सत्तारुढ गठबन्धनसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको छ ।

अघिल्लो चुनावमा ठूला मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा मिलेर चुनाव लडेका थिए। अहिले त्यही पृष्ठभूमिका दुई दल फरक-फरक गठबन्धनमा छन्। दुई गठबन्धनका कारण मधेसमा यसपालिको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
चार प्रतिनिधि सभा र आठ प्रदेश सभा क्षेत्र रहेको महोत्तरी जिल्लामा आसन्न मङ्सिर ४ को निर्वाचनका लागि ३ लाख ९७ हजार ३० मतदाता छन् । तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा ९९ हजार ९ सय ३० छन् ।

यसैगरी क्रमशः क्षेत्र नं २ मा ९९ हजार ७ सय ७, क्षेत्र नं ४ मा ९८ हजार ८ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार ४ सय १७ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
हेरौ महोत्तरी क्षेत्रगत अवस्था कुन क्षेत्रमा कसले बाजी मार्ला ?
महोत्तरी-१ मा गिरिराजमणि पोखरेल, २ मा शरतसिंह भण्डारी, ३ मा महन्थ ठाकुर र ४ मा डा.सुरेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा पुनः उम्मेदवार छन्। यीमध्ये पोखरेल, भण्डारी र ठाकुर सत्ता गठबन्धनबाट मैदान उत्रिएका हुन्। प्रतिनिधिसभामा एमाले र जसपाको गठबन्धनबाट ४ मा डा. सुरेन्द्र यादव उम्मेदवार छन्।
उनी दोश्रोपटक जित्ने दाउमा छन्। त्यहाँ मुख्य प्रतिस्पर्धा नै सत्ता गठबन्धन र विपक्ष एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूबीच देखिएको छ। लगातार तीनपटक चुनाव जितिसकेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई चुनौती दिन एमालेले लक्ष्मी महतोलाई खडा गरेको छ।
स्थानीय चुनावमा महोत्तरी-१ मा माओवादीको १५ हजार ८८८, कांग्रेसको १३ हजार १४६, एमालेको ८ हजार ३४, जसपाको ७ हजार २३४, लोसपाको ७०६९, र एकीकृत समाजवादीको १ हजार ५०८ मत आएको थियो। सत्तागठबन्धनको मत एक ठाउँमा आउँदा यहाँ पोखरेललाई जित निकाल्न कुनै कठिनाइ छैन ।
महोत्तरी-२ मा सत्ता गठबन्धनले लोसपाका शरतसिंह भण्डारीलाई उम्मेदवार बनाएको छ। उनी राजनीतिका पोख्त खेलाडी मानिन्छन्। एमालेले उनीविरुद्ध राम परीक्षण यादवलाई उठाएको छ। यो क्षेत्रमा स्थानीय चुनावमा लोसपाको १७ हजार ५७७, कांग्रेसको १६ हजार ९३८, जसपाको ८ हजार ५३२, एमालेको ७ हजार ५७ र माओवादीको ६ हजार ५०६ मत छ ।
यसका आधारमा सत्ता गठबन्धन भारि मतले अगाडि देखिन्छ । भण्डारीले यहाँबाट सहजै चुनाव जित्ने अनुमान गरिएको छ ।
महोत्तरी-३ मा गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर चुनावी मैदानमा छन् । यहाँ उनकै शिष्य बृषेशचन्द्र लालले तमलोपाबाट चुनौती दिएका छन्। कुनैबेला ठाकुरका विश्वासपात्र रहेका राजनीतिक विश्लेषक लाल पार्टीबाट असन्तुष्ट भई तराई मधेस लोकतान्त्रिक पार्टी दर्ता गरेर चुनावमा होमिएका हुन्।
ठाकुर र लाललाई एमाले–जसपा गठबन्धनको तर्फबाट जसपाका नेता हरिनारायण यादवले टक्कर दिँदै छन्। यहाँ बागी उम्मेदवारका रूपमा एमालेका रामआधार कापरसमेत प्रतिस्पर्धामा छन्। स्थानीय चुनाव अनुसार यो क्षेत्रमा जसपाको १४ हजार ३५७, लोसपाको १२ हजार ७३५, एमालेको १० हजार ८२०, कांग्रेसको ९ हजार ४३, माओवादीको ५ हजार १९५ र एकीकृत समाजवादीको २ हजार ५७० मत छ ।
गत चुनावमा ठाकुर यही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । अहिलेसम्मको अवस्थामा ठाकुरले नै यहाँबाट जित निकाल्ने सम्भावना छ ।
महोत्तरी-४ मा गत निर्वाचनमा भारी मतले विजयी भएका डा.सुरेन्द्र यादवले फेरि सफलता पाउने दाबी गर्छन्। चिकित्सा क्षेत्रसँग जोडिएका जसपा नेता डा. यादवलाई टक्कर दिन सत्ता गठबन्धनले कांग्रेसका प्रभावशाली नेता महेन्द्र कुमार रायलाई मैदान उतारेको छ।
क्षेत्रमा राम्रो प्रभाव रहेका राय र डा. यादवबीच नै यो क्षेत्रमा कडा टक्कर हुने स्थानीयको बुझाइ छ। यो क्षेत्रमा पनि पनि सत्ता गठबन्धनको बढी मत छ । स्थानीय चुनावका आधारमा गठबन्धनकारी दलको ३७ हजार ८ सय ६९ र एमाले–जसपा गठबन्धनको २० हजार १ सय ५ मत छ ।
स्थानीय तहको परिणाम अनुसार नै मतदान भएमा महोत्तरीका चारवटै क्षेत्र गठबन्धनले जित्ने निश्चित छ। तर चुनावमा व्यक्तिको प्रभावले पनि महत्त्व राख्ने भएकाले अहिले नै ठोकुवा गर्न भने गाह्रो देखिन्छ।