जनकपुरधाम - नूतन झा उच्च अदालत जनकपुरकी प्रवक्ता हुन् । अहिले उनी निर्वाचन अधिकृत भएर मतदान केन्द्रमा खटिएकी छन् । आइतबार हुने निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित पशुसेवा मतदान केन्द्रको नेतृत्व गरिरहेकी छन् ।
सो मतदान केन्द्र धनुषाकै नमुना मतदान केन्द्र हो । त्यहाँ सबै महिला कर्मचारी मात्र खटिएका छन् । निर्वाचन अधिकृत झासहित आठ महिला कर्मचारीले मतदान कार्यको जिम्मेवारी सम्हालेका छन् ।
सुरक्षाकर्मीतर्फ पनि सबै जिम्मेवारी महिलालाई नै दिइएको छ । प्रहरी सहायक निरीक्षक रेनुका तमाङको नेतृत्वमा यहाँ तीन महिला नेपाल प्रहरी र पाँच महिला म्यादी प्रहरीलाई खटाइएको छ ।
शनिबार दिउँसो मतदान केन्द्रमा पुग्दा निर्वाचन अभिकृत झा सर्वपक्षीय बैठकको तयारी गरिरहेकी थिइन् । शनिबारै यहाँ निर्वाचन अनुगमन परिचालन समिति, अमेरकी राजदूतावासलगायत टोलीले निरीक्षण गरेको थियो । ती टोलीलाई ‘बिफ्रिङ’ गर्न उनी व्यस्त भएकी थिइन् ।
उनी काँधमा जिम्मेवारी थपिँदा खुसी रहेको बताउँछिन् । मतदानका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सजग छिन् ।
झाजस्तै जिल्ला अदालत धनुषाकी कर्मचारी चाँदनी शर्मा पनि नमुना मतदान केन्द्रमा खटिन पाउँदा उत्साहित छन् । “महिलाले अवसर पाए गर्न सकिन्छ । शिक्षा र अनुभवको आधारमा मज्जाले नेतृत्व गर्न सकिन्छ,” उनले भनिन्, “मनमा डर छैन । हामीलाई यहाँ दुईवटा चुनौती आउन सक्छ । मतदाताले हामीसँग गर्न सक्ने व्यवहार र अर्को, उमेदवारका प्रतिनिधिहरूले हो–हल्ला गर्न सक्नेजस्ता चुनौती हामीलाई आउन सक्छ ।”
शर्माको शंकालाई थप मजबुत बनाउँछ, सर्वपक्षीय बैठकमा उमेदवारका प्रतिनिधिहरूले राखेको प्रस्तावले । बैठकमा उमेदवारका प्रतिनिधिहरूले चिया, पानी खुवाउनुपर्ने र ‘पोलि एजेन्ट’हरूले मोबाइल बोक्न पाउनुपर्ने माग गरे । तर, निर्वाचन अधिकृत झाले उनीहरूका माग अस्वीकार गरिन् ।