
जनकपुरधाम- धनुषामा आजै रातिदेखि मतगणना सुरु गरिने भएको छ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतपेटिका संकलनको काम भइरहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी आजै रातिबाट मतगणना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।
मतदान सकिएर मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक गरेर आजै रातिदेखि मतगणना सुरु गरिने प्याकुरेलले जानकारी दिए ।
धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार स्थानमा हुने जनाइएको छ ।
क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए । मतगणनाको लट लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको उनले बताए ।