धनुषाको क्षीरेश्वरनाथ नगरपालिका द्वारा १९औँ एसियाली खेलकुदमा सहभागी मधेस प्रदेशका महिला कबड्डी खेलाडी गंगा घिमिरेलाई नगद सहित सम्मान गरिएको छ।
चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको थियो । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।



मधेस प्रदेशबाट छनौट भई खेलमा सहभागी महिला कबड्डी खेलाडी गंगा घिमिरेलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगद २५ हजार सहित सम्मान गरेको हो ।
खेलाडी घिमिरेलाई मधेस प्रदेश कबड्डी संघ द्वारा महेन्द्रनगरमा आयोजित मधेस प्रदेश निर्णायक तालिम कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाको तर्फबाट उपमेयर रचना माथेमाले नगद सहित सम्मान गरेकाे हो ।

मेयर सुखदेव यादवले अन्तराष्ट्रिय स्तरमा यस प्रदेशको नाम चम्काउन योगदान पुर्याए वापत तथा खेलाडीहरुको मनोबल बढाउन सम्मान गरिएको बताए ।
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको थियो । भारतसित पराजित भएसँगै नेपाल कास्य पदक मै सीमित भएको रह्यो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको थियो।
नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले एसियाली प्रतियोगितामा कास्य पदक पक्का गरेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए ।




