
सुनिता बराल,महोत्तरी - महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । गौशाला नगरपालिका १ स्थित रामनगर मतदान केन्द्रबाट गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सर्वदलीय बैठकको निर्णय अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको गणना एकैपटक सुरु गरिएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको थियो ।
दलहरुबीच समझदारी नहुँदा गणना सुरु गर्न ६ घन्टा ढिला भएको श्रेष्ठले बताए । बर्दिवास नगरपालिका, गौशला नगरपालिका र भंगाहा नगरपालिकाको ४ वडा गरी कुल ३० वटा वडाको मत क्षेत्र नम्बर १ मा परेको छ ।
९८ हजार ४ सय ९७ कुल मतदाता रहेको यो क्षेत्रमा ६५ हजार ४ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।