काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुगेको छ । २ खेल बाँकी छँदै प्लेअफ पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ ।
सुदूरपश्चिमले लगातार पाँच खेलमा जितेको हो भने जनकपुरको यो लगातार चौथो हार हो । टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।



सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए । उनी प्लेयर अफ द म्याच पनि भए । एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
विनोदले ४९ बलमा ४२ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा र हर्मित सिंह २५ रनमा नटआउट रहे । जनकपुरका लागि माज सदाकतले २ र सञ्जय कृष्णमुर्ती र आदित्य महताले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनायो । कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे । सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।




