
विराटनगर - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा मात्र २ लाख ४८ हजार ४ सय ७८ मतदाताले आइतबार मतदान नगरेको निर्वाचन कार्यालयको तथ्याङक छ ।
यो कुल मतदाताको ३३ दशमलव ७८ प्रतिशत हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा ७ लाख ३५ हजार ५ सय २५ मतदाता थिए । ती मध्ये ६६ दशमलव २२ प्रतिशत अर्थात् ४ लाख ८७ हजार ४७ ले मतदान गरे । जबकी गत स्थानीय निर्वाचनमा ७ लाख १५ हजार मतदाता रहँदा झण्डै ७१ प्रतिशतले मतदान गरेका थिए ।
मतदानका क्रममा आइतबार उत्साहाजनक रुपमा लामबद्ध मतदाता जिल्लाका कुनै पनि मतदान केन्द्रमा देखिएनन् । छिटफुट छिटफुट रुपमा आएर मन नलागी नलागी मतदान गरेको जस्तो देखियो । निर्वाचन अनुगमनमा डुलेका स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापक अर्जुन बरालले भने,' मतदातामा दल र नेताप्रतिको आक्रोश झल्किन्थो ।
राता रात नेताहरुको जीवन शैलीमा परिवर्तन आउनु तर राज्य भएको महसुस जनताले गर्न नपाउनु नै मतदाता मतदानका लागि उत्साहित नभएको प्रष्ट हुन्छ । लामो समयदेखि तीनै दल र तीनै नेता उम्मेदवार हुँदापनि यसपालिको आम निर्वाचनलाई मतदाताले उत्सवका रुपमा नलिएको बुझन सकिन्छ । 'उनले परम्परावादी दल र तिनका नेताहरुको विकृतिका कारणपनि मतदाता रुष्ट भएको बताए । 'मतदान गर्ने नगर्ने मतदातामा निहित अधिकार हो ।
अनिवार्य मतदान गर्न राज्यले बाध्य बनाउने कुरापनि भएन,' प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवनकास्यप अधिकारीले भने,' झण्डै ३४ प्रतिशत मतदाताले मतदान नै नगर्नु भनेको दल र नेता प्रतिको असन्तुष्टि पनि हुन सक्छ ।' उनका अनुसार अधिकांस मतदाता वैदेशिक रोजारीमा रहनु र फसल थन्क्याउने चटारोले पनि मतदाता मतदान गर्न नआएको हुन सक्छ । 'गत स्थानीय निर्वाचनमा मतदाताको आर्कषण थियो ।
उम्मेदवारसँग बढी निकटता भएर पनि त्यस्तो भएको हुन सक्छ,' अधिकारीले भने,'प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिधै जनतासँग नजोडिएका कारण आइतवारको मतदानमा मत न्यून खसेको हुन सक्छ ।
' मोरङका ६ निर्वाचन क्षेत्र मध्ये सबै भन्दाबढी मतदाता भएको क्षेत्र नम्बर ३ मा ६५ दशमलव ८ प्रतिशत मात्र मत खसेको निर्वाचन कार्यालयको तथ्यांक छ । त्यहाँ १ लाख ४९ हजार ८ सय ३३ मतदाता मध्ये ९७ हजार ५ सय एक मतमात्र खसेको छ । क्षेत्र नम्बर १ का १ लाख २३ हजार ६ सय १५ मतदाता मध्ये ७६ हजार ५४ मतदाताले मतदान गरेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ का १ लाख २४ हजार ७ सय २९ मध्ये ८० हजार १ सय २७ जनाले मतदान गरेका छन् ।
क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ९३ मध्ये ७४ हजार ५ सय ५७, क्षेत्र नम्बर ५ मा १ लाख ४ सय ९४ मध्ये ७२ हजार ९ सय ७३ र क्षेत्र नम्बर ६ का १ लाख २६ हजार ७ सय ६१ मतदाता मध्ये ८५ हजार ८ सय २७ मतदाताले मात्र मतदान गरेको निर्वाचन कार्यालयको तथ्यांक छ । स्रोत : कान्तिपुर