
भक्तपुर। भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । विहीबार बिहान ५ बजे घोषणा भएको अन्तिम मत परिणामको नतिजा अनुसार कांग्रेसका थापा नेकपा एमालेका पोलिटब्युराे सदस्य महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।
कुल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थापा २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी महेश बस्नेतले २३ हजार २७९ मत प्राप्त गरे
२०७४ सालको चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दमननाथ ढुङ्नाले १८ हजार ६८७ मत प्राप्त गर्दा नेता बस्नेतले ३६ हजार ४१२ मत प्राप्तगरी विजयी भएका थिए । अहिले यहीँ क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार थापासँग ९५९ मतको अन्तरमा बस्नेतले पराजय भोग्नु पर्यो ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार ९७३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार ७३३, राष्ट्रियत प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ३५२ प्राप्त गर्नु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।