मधेश प्रदेश सरकारको अगुवाइ आलोपालो गर्ने सहमतिको म्याद अन्तिम चरणमा पुग्दा प्रदेश सरकारको नेतृत्व गर्ने जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय सरकारलाई दिएको समर्थनमाथि पुनः विचार गर्ने भन्दै छाड्ने चेतावनी दिएका छन् ।
केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको सामिप्यतामा मौन रहेका जनमतका अध्यक्ष राउतले मधेश प्रदेशमा बजेट ल्याएर आफ्नै नेतृत्वको पार्टीको सरकार र ओली सरकारको समेत आलोचना गरेका छन् । मधेश प्रदेशमा प्रदेशसभामा छलफलमा रहेको बजेट पारित गर्नका लागि प्रक्रिया रहेको बेला मुख्यमन्त्री सतीशकुमार सिंहलाई असफलताको ट्याग लगाइ आफ्नै नेतृत्वको सरकारविरुद्धमा सामाजिक सञ्जालमा विचौलियाले बजेटमा चलखेल गरेको आरोप लगाएका छन् ।
बजेट हाउसमा छलफल रहँदा अर्कोतर्फ सत्ताधारी मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेमाथि दोषारोपण गर्दै जनमत पार्टीको संसदीय दलको बैठकबाट पार्टीको केन्द्रीय कमिटीलाई यसबारे निर्णय गर्न जिम्मेवारी दिइएको जनाइएको छ । यसैबीच अध्यक्ष राउतले राजनीतिक पृष्ठभूमि र अबको जनमतको भूमिका खोज्दै अहिलेदेखि नै आफ्नै नेतृत्वको सरकार विरुद्ध पनि मोर्चाबन्दीमा लाग्ने भएका छन् ।
जनमत पार्टी सचिवालयले आइतबार बैठक बसेर सोबारे अन्तिम निर्णय गर्ने स्रोतले जनाएको छ । यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै जनमतले पनि फिर्ता लिन सक्ने चेतावनी दिएका छन् । अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी नभए पनि यसबारे ठोस निर्णय आइतबारको बैठकबाट गर्ने जनमतका प्रवक्ता शरद यादवले जानकारी दिए ।
यता संघीय लोकतान्त्रिक मोर्चाको बिहीबार बसेको बैठक आइतबार पुनः बस्ने गरी सम्पन्न भएको जनाइएको छ । काठमाण्डुस्थित लाजिम्पाटमा बसेको बैठकमा मोर्चासम्वद्ध घटक दल जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताए ।




