महोत्तरी - लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको विभिन्न क्षेत्रहरुमा बाढी र डुवान बढेको छ । बाढीको पानी जिल्लाको सदरमुकाम जलेश्वरमा पस्दा सडक जलमग्न भएको छ भने केही घरहरुमा पानी समेत पसेको छ ।
दुई दिनदेखि लगातार परिरहेको पानीको कारणले नदिहरुमा जलस्तर बढनुका साथै तटबन्धहरु कटान गर्न थालेका हुन् । लगातारको पानीको कारणले जिल्लामा रहेको रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका दर्जनभन्दा नदिहरुमा जलस्तर बढेको छ । जिल्लाको दुःख भनेर चिनिने रातो नदिको रतवारमा २० मिटर बाँध कटान भएको छ भने जलेश्वर नगरपालिका वडानं. ३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरिएको छ । रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको छ ।
जसको कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र तथा जलेश्वरको अस्पताल चोक डुवानमा परेका छन् । धवौलीमा काटिएको तटबन्धको पानी सोही वडाको खैरातर्फ सोझिएको छ । जलेश्वरमा बाढीको पानी प्रवेश भएको र ढल जामको समस्याले दुई फिट भन्दा बढी पानी जमेको जलेश्वर नगरपालिका वडानं. २ का युवा मुकेश पासवानले बताउनुभयो । जलेश्वर नगरपालिकाको विभिन्न ठाउँमा शहरीकरणको लागि ढलसहितको सडक बनाईए पनि ढल जाम हुने गर्दा सडकमै दुईफिटभन्दा बढी पानी जमेको युवा पासवानको भनाई थियो ।
स्थानीय दैवि प्रकोप उद्धार समितिले शनिबारदेखि नै जनचेतना थालेको तथा बाढी आउन सक्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ । जिल्लाको एकडारा गाउँपालिका वडा ६ वगेयामा तटबन्ध भत्किदाँ एकडारा गाउँमा पानी पसेको छ जसको कारणले धेरै घरहरुमा पानी पसेको जनाइएको छ । बाढीको पानीको कारण जलेश्वर बर्दिबास सडकखण्डबाट समेत पानी बगेको छ । बाढीको कारण जिल्लाको औरही नगरपालिका वडानं. २ मा समेत १५ वटा घरहरुमा क्षति पुगेको स्थानीय युवा प्रेम वावु यदुवंशीले जानकारी दिनुभयो । बलवा नगरपालिकाको वस्तीमा समेत बाढी पसेपछि सुरक्षाकर्मीहरुले स्थानीयहरुलाई उद्धार गरेका छन् ।
अहिले पानी क्रम रोकिएको भएपनि नदिहरुमा पानी वहावको कारणले पानी बढने क्रम जारी रहेको जनाइएको छ। यसैबीच, जिल्लाको विभिन्न ठाउँमा गरिएको तटबन्ध कटानले मटिहानी नगरपालिकाको वडानं. ९ सिमरदही वस्तीमा समेत पानी पसेको छ । जलेश्वरको वडानं. १, २, ३, ४ र ५ समेत प्रभावित बनेको छ ।




