
जनकपुरधाम – महोत्तरी क्षेत्र नं २(ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र रहेकी सुरिता साह निर्वाचित भएकी छन् । सुरिता साहले ५ दलिय गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेस महोतरीका सभापती नागेश्वर यादवलाई १ हजार ७६६ मतान्तरले हराउँदै निर्वाचित भएकी छिन् ।
साहले ८ हजार ५६८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ६ हजार ८०२ मत ल्याएका थिए । साहले २०७४ सालको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्दै चुनाव जितेकी थिइन् । त्यस चुनावमा १५ हजार ४४० मत ल्याएर उनले नेपाली काँग्रेसका राज करण साहलाई मात्र ६ हजार ४९७ मतमा सिमित राख्दै विजयी भएकी थिईन ।
त्यसैगरी सर्लाही १ को प्रदेश सभा ख मा नेकपा एकीकृत समाजवादी नेतृ बेची लुंगेली विजयी भएकी छिन् ।
१३ हजार ६७७ मत सहित जीत निकालेर लुंगेलीले नेकपा एकीकृत समाजवादीकाे तर्फबाट प्रदेश सभातर्फ मुलुकमै पहिलाे खाता समेत खाेलेकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामाले ६ हजार ९७८ मतमै सिमित भईन् । ३८ हजार २७२ मत खसेको थियो ।
गठवन्धन् अन्तर्गत नेकपा माओवादी केन्द्रका बागी राजन श्रेष्ठले ५ हजार ९४५ मत ल्याउँदा समेत लुंगेलीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लामा भन्दा झण्डै दाेब्बर बढी मत सहित जीत निकालिन् ।
सोही प्रदेश सभाकी निवर्तमान प्रदेश सभा सदस्य समेत रहेकी लुंगेली सँगै एमालेबाट लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर लामा र लालबन्दी वडा नं. ८ का निवर्तमान वडाध्यक्ष श्रेष्ठ सहित ११ जना उम्मेदवार मैदानमा थिए ।